आज नवरात्रिको नवौँ दिन, आज दुर्गा माताको नवौँ शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा आराधना गरिँदै छ। साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिँदै छ ।

आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता रहेको छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असीम कृपाका कारण शिवजी स्वयंले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको वाहनमा विराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो। माताको साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्त गर्ने विश्वास छ र शक्तिस्वरुप सिद्धिधात्री प्रसन्न भएर वरदान दिएमा साधक साधिकाको कुनै पनि इच्छा बाँकी नहुने गरी सम्पूर्ण इच्छा पूरा गरिदिने भनी मार्कण्डेय पुराणमा उल्लेखित छ ।

मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको व्याख्या गरिएको छ । सिद्धिदात्री सम्पूर्ण सिद्धि प्रदान गर्ने देवी हुन्। यी देवीको पूजा गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता रहेको छ। भगवान् शिवले पनि यी नै देवीको कृपाले आठ सिद्धि प्राप्त गरेको मान्यता छ।

माताको आवरण दाहिने तर्फ तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देब्रे तर्फ तल्लो हातमा शङ्ख, माथिल्लो हातमा कमलको फूल रहेको छ । माताको मन्त्र: 'ॐ देवी सिद्धिदात्यै नमः।' अथवा 'ॐ ऐ ह्रीं क्लीं सिद्धिदात्यै नमः।'हो एवम् माता कमलको आसनमा विराजमान हुनुहुन्छ ।

आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरूले असुरहरूलाई खोजी-खोजी संहार गरेपछि बाँचेका असुरहरू जनावरका रूपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरूलाई बलि चढाइने किंवदन्ती रहेको छ ।

दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, बज्रवाराही धरानको दन्तकाली लगायतका शक्तिपीठहरुमा केवल पुजारीहरूले मात्र देवीको नित्यकर्म गरिरहेका छन्।

पशुबलि नदिनेले भने आ–आफ्नो कुल परम्पराअनुसार कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिएर पायस पनि चढाउने गर्दछन् ।

आज नवरात्रको अन्तिम दिन भएकाले आज नौ दिन सम्म चण्डी पाठ गरेका ब्राह्मणहरूले विशेष वैदिक विधिले दुर्गा मन्त्र बाट हवन गर्दछन्।