झापा : यति बेला नेपालीहरूले परापूर्व काल देखि मान्दै आएको महान् चाड वडादशैको रौनक सबैको घर-घरमा छाएको छ ।

आफ्ना आफन्त तथा मान्यजनहरुसंग टिका तथा आर्सीवाद ग्रहणका लागी आउने जानेहरुकोे चहलपहल दसैँमा हुने गर्दछ । यो पहिले पहिले घरमा सेल रोटी बनाएर कोसेलीकोरुपमा बोकेर आफन्तकोमा जान चलन थियो । तर पछिल्लो समय दशैंमा कोसेली बोक्ने परम्परा फेरिएको छ ।

विगतमा घरमा सेल रोटी लगायतको घरैमा बनाएको कोसेली बोक्ने चलनलाई अहिले फलफूल र मिठाईले पुरानो परम्परालाई विस्थापित गरिदिएको छ । त्यसैले यति बेला कोसेलीको रूपमा लाने मिठाई र फलफूल पसलमा उपभोक्ताहरूको भिड हुने गर्दछ ।

चाडपर्वमा आफूलाई सहज र अनुकूल हेरेर कोसेलीको रूपमा लैजान मिठाई र फलफूल किन्ने उपभोक्ताहरूको भिड पसलमा बाक्लो देखिएको हो । बजारमा हरेक उपभोग्य सामानहरूको मूल्य वृद्धि भए सँगै मिठाई तथा फलफुलकोे पनि मूल्य वृद्धि भए पनि उपभोक्ताहरू किन्न बाध्य भएको बताउँछन् झापा गौरादहका उपभोक्ता कुमार दाहाल ।

आफ्नो परम्परा र संस्कृति अनुरूप चाडपर्व मनाउने तरीका हरेक जातीविषेशमा फरक हुन्छ । चाडबाड मनाउने शैली पनि दिनानुदिन परिवर्तन भइरहेको छ । आधुनिकताको नाममा आफ्नो संस्कार खानपान रहनसहन लोप हुँदै गएको झापाका पुराना व्यवसायी कमल अधिकारी बताउँछन् ।

पहिले चाडबाडमा सेल रोटी दुना टपरामा अचार लगायत घरमा उत्पादन गरिएको परिकारहरू कोसेलीको रूपमा लाने चलन रहे पनि अहिले त्यो क्रम क्रमशः हटेको देखिन्छ । बजारमा पनि स्वदेश तथा विदेश बाट आयत गरिएको मिठाइ तथा फलफूलको कारोबार अत्यधिक भएको पाइन्छ ।

पछिल्लो समय आफ्नो र आफन्तमा जाँदा बोक्ने कोसेली फेरिएसँगै युवा पुस्तामा परम्परागत कोसेली प्रति आकर्षण बढाउनुपर्ने संस्कृतिविदहरुको भनाई छ । यदि यसो भयो भने मौलिकता हराउनुको साथै संस्कृतिलाई पनि भोलि यसले ठुलो असर पुर्याउने देखिन्छ ।