विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१४५ जनाको पीसीआर परीक्षण गर्दा १९ र १५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०, मोरङमा ६ र झापामा ३ जनामा सङ्क्रमण भएको हो ।

सुनसरीको इटहरीमा ६ र धरानमा ४, मोरङको विराटनगर र सुन्दरहरैचामा २-२, पथरीशनिश्चरे र बुढीगंगामा १–१, झापाको बुद्धशान्ती, भद्रपुर र कचनकवलमा १-१ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १८९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९७ महिला र ९२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।