धरान : दशैं आयो ! दशैं आयो ! भन्दा भन्दै दशैंले बिदा माग्न थालिसकेको छ । आज टिकाको तेस्रो दिन द्वादशी, आज पनि मान्यजनबाट दशैँको टिका र जमरा लगाइँदै छ ।

हिजो र अस्ति टिका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने क्रम जारी छ ।

परपरका आफन्त अनि छोरी चेलीहरू टिको थाप्न आउने क्रम अझै चलिरहेको छ । हिजोको एकादशीको व्रत बस्नुभएकाहरुले आज सबेरै खाना तथा फलाहार गर्नु हुन्छ, र गर्न जरुरी पनि छ ।

आज टिकाको तेस्रो दिन सम्म आइपुग्दा माइत मावल सबैतिरबाट धेरैले आशिष् थापिसक्नुभएको छ र धेरैले अझै स्नेसरूपी आशिषका शब्दहरूले आफूलाई ऊर्जाशील बनाउँदै हुनुहुन्छ ।

माता दुर्गाको महाप्रसादका रूपमा रहेको रातो अक्षता र हरिया पहेँला जमरा ग्रहण गर्न एवम् निधार खाली नराख्न, अग्रजका आशिष् ग्रहण गर्न आज पनि मानिसहरूलाई चटारो नै छ ।

भानु चौकमा यात्रु अलपत्र
दशैंमा आफन्त तथा मान्यजनकहाँ टिका थाप्न हिँडेका सर्वसाधारण आज पनि धरानको भानु चौकमा अलपत्र परेका छन् ।

Yatru-alapatra

कोसी पहाडी राजमार्गमा छुट्ने बस पर्याप्त नभएकै कारण दशै मनाउन घर हिँडेका यात्रुहरू बसपार्कमा अलपत्र परेका हुन् । एकातिर पर्याप्त बस नहुनु, अर्कोतर्फ कोरोना सङ्क्रमण न्यूनीकरण नभएकै अवस्थामा सिटभन्दा बढी खचाखच यात्रु बोकेर हिँड्दा जोखिम बढेर गएको यात्रुहरू बताउँछन् ।

दशैंलाई लक्षित गरी विगतको भन्दा दोब्बर सवारी साधन सञ्चालन गर्दा समेत यात्रुको चापलाई धान्न नसकेको यातायात व्यवसायी बत्ताउँछन् ।

यातायात व्यवसायीले यसो भनिरहँदा भानु चौकमा पहाड जाने यात्रुको चाप अत्यन्तै बढेको छ । सामाजिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पुरा गरेर यात्रुवाहक बस सञ्चालनमा नल्याएपछि समस्या भएको सर्वसाधारणको गुनासो छ । हिजो १० बजे देखि पहाड जाने गाडी नै बस स्टेनमा नआए पछि झन् यात्रुहरू अलपत्र परेका थिए ।

Yatru-alapatra-1