सुनसरी : आगामी जनगणना २०७८ मा थारुहरूको वास्तविक तथ्याङ्क समावेश गरी थारु समुदायको हक अधिकार सुनिश्चित गरी हरेक तहमा पहुँचका लागि थारु अगुवाहरू सचेत हुनुपर्ने बताइएको छ ।

थारु महिला सभा उपमहानगर कार्यसमिति इटहरी सुनसरीले इटहरीमा आयोजना गरेको कार्यक्रममा आउँदो जनगणना २०७८ तथा थारु भाषा सरकारी कामकाजको भाषाको रूपमा लागु गर्नु पर्ने विषयक सचेतनात्मक कार्यक्रमका वक्ताहरूले हरेक क्षेत्रमा थारुहरूको पहुँच पुर्‍याउनका लागि थारुहरूको वास्तविक तथ्याङ्क आउनु पर्नेमा जोड दिएका हुन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा थारु आयोग नेपालका सदस्य भोलाराम चौधरीले जनगणनाका आधारमा राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक लगायतका क्षेत्रको पहिचान भई सोही अनुसार नीति निर्माण तथा योजना कार्यक्रमहरू तय हुने हुँदा थारुहरूको वास्तविक तथ्याङ्क जनगणनामा समावेश गर्न सचेत हुनु पर्ने बताए ।

उनले देशको २४ जिल्लामा थारुहरूको बसोबास भएता पनि २०६८ सालको जनगणनामा वास्तविक थारुको तथ्याङ्क आउन नसकेको तथा बोलिने थारु भाषा समेतमा कमी आएको देखाइएको हुँदा यस पटक गणकहरूलाई सचेत गराउनु पर्ने बताए । आयोगले संविधान प्रदत्त अधिकारलाई सुनिश्चित गर्नका लागि ७ प्रतिशत आरक्षणको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारलाई पटक पटक ध्यानाकर्षण गराई रहेको समेत जानकारी दिए ।

त्यसै गरी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले थारुहरू शिक्षित हुनु पर्ने तथा राजनीतिक चेतना जागृत हुन जरुरी रहेको बताए । सुनसरीमा थारुको जनसङ्ख्या १ लाखको हाराहारीमा रही १८ प्रतिशत थारु बाहुल्यता रहेको भए पनि स्थानीय तहहरूमा चाहे जति उपस्थित हुन नसकेको बताए ।

जनगणना फारममा थारुहरूको भाषा, धर्म र जाति लगायतका ठाउँ सचेत भई थारुको पहिचान खुल्ने शब्द राख्नु पर्ने, थारु बाहुल्यता तहमा सरकारी कामकाजको भाषा थारु राख्न स्थानीय सरकार तथा प्रदेश सरकारको ध्यानाकर्षण गराई सङ्घीय सरकारलाई दबाब दिने जस्ता विषयमा वक्ताहरूले जोड दिएका थिए ।

सो कार्यक्रममा थारु महिला सभाकी केन्द्रीय सदस्य सुशीला चौधरी, थारु पत्रकार सङ्घका केन्द्रीय सदस्य कुलदिप चौधरी, थारु कानुन व्यवसायी रामराज चौधरी, थारु महिला उत्थान समाजकी सीता चौधरी, लाइन्स क्लब ग्रिन सिटीकी अध्यक्ष निर्मला चौधरी, ग्रामथान संरक्षण समितिका संयोजक तेज नारायण चौधरी, पत्रकार गवन सिंह चौधरी, समाजसेवी कालु राम चौधरी लगायतले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम सभाकी अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।