धरान : विश्व बालबालिका दिवसको अवसरमा शनिवार धरानमा बालबालिकाको स्वास्थ्य समस्याको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

'राष्ट्रका कर्णधार बाल बालिका हुन' भन्ने मूल नाराका साथ सम्पन्न सो कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरूले बालबालिकाको स्वास्थ्य समस्या र बालबालिकाहरूको आनीबानीमा केन्द्रित रहेर अभिभावको जिज्ञासालाई समाधान गरेका थिए ।

अपाङ्ग पुनर्स्थापना तथा असहाय सेवा केन्द्र धरान ९ मा आयोजना भएको सो कार्यक्रमको प्रमुख अतिथि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मुटु रोग विशेषज्ञ डा. विजय शाह रहेका थिए । कार्यक्रममा बालबालिकाको स्वास्थ्य समस्याको बारेमा प्रतिष्ठानका बाल रोग विषेशज्ञा डा. अरुणकुमार सिंह, डा. राजेश शाह र डा. रानी रौनीयरले कार्यक्रममा आआफ्नो धारणा राखेका थिए ।

सोही अवसरमा प्रतिष्ठानका डाक्टरहरूले केन्द्रका बालबालिकाहरूलाई स्टेसनरी सामाग्री पनि वितरण गरेका थिए । कार्यक्रममा पाँचथरको फिदिममा भएको बस दुर्घटनाका घाइते बस चालक सोमबहादुर राईलाई अशोक अग्रवालले ह्विलचियर प्रदान गरेका छन् ।

अपाङ्ग पुनर्स्थापना तथा असहाय सेवा केन्द्रका सल्लाहकार अशोक अग्रवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बालबालिकाको स्वास्थ्य समस्या र आनीबानीको बारेमा सम्बन्धित चिकित्सकहरूबाट अभिभावकहरूलाई जानकारी दिइएकोले निकै प्रभावकारी भएको केन्द्रका निर्देशक सुनिल खडकाले जानकारी दिए ।

आगामी दिनमा बालबालिकाको समस्यामा केन्द्रित रहेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र बालबालिका केन्द्रित स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने बताइएको छ ।