धरान : नेपाली काँग्रेस सुनसरीमा प्रदेश निर्वाचन क्षेत्रको मतपरीणामले तरङ्ग ल्याएको छ । त्यसमध्ये पनि सुनसरी क्षेत्र नम्बर १ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा संस्थापन इतर प्यानल विजयी भएपछि देउवा पक्षमा तरङ्ग आएको हो । दुई वटै प्रदेश निर्वाचन क्षेत्रमा इतर प्यानल विजयी भएपछि संस्थापन पक्षमा हलचल आएको हो ।

हालसालै देउवा पक्षको समर्थनमा क्षेत्रीय सभापतिको उम्मेदवार भएका तिलक राई त्यसको कोपभाजनमा पर्ने देखिएको छ । देउवा टिममा प्रवेश नगरे पनि संस्थापन पक्षले क्षेत्रीय सभापतिमा आफूलाई समर्थन गरेको बताउँदै आएका उनलाई पछिल्लो निर्वाचन परिणामले समस्यामा पार्ने भएको छ  ।

इतर पक्ष (कोइराला/पौडेल)का सुजेन्द्र तामाङ स्वभावकी उम्मेदवार हुने भएपछि राईले संस्थापन पक्षको उम्मेदवार बनेका हुन् । सोही बमोजिम संस्थापन पक्षले पनि टिम बलियो बनाउन राईलाई समर्थन गरेको हो । तर पछिल्लो चुनावी नतिजाले संस्थापन पक्ष निक्कै कमजोर अवस्थामा पुगेको छ ।

यसअघि धरान उपमहानगरपालिकाको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार किशोर राईलाई हराउन लागेका तिलक अहिले उनकै टिमको उम्मेदवार भएका छन् । देउवा टिमले कार्यकर्ताको भावना विपरीत निर्णय गरेको भन्दै किशोरले विरोध जनाउँदै आएका छन् । किशोरको असन्तुष्टि कै उपज इतर पक्ष हाबी भएको छ ।

किशोरकै भनाइको आधारमा प्रदेशको निर्वाचनले धेरै कुरा सङ्केत गरेको छ । राजनीतिमा नैतिकता हराउँदै जाँदा आफू कार्यकर्ताको लागी लड्ने निर्णयमा पुगेको उनको भनाई छ । देउवा टिमका नवप्रवेशीको कारण यो अवस्था आएको उनले प्रष्ट पारे । आफू २०५८ साल देखी देउवा टिममा रहेको तर नयाँ आएकाले ठेकेदारी चलाउन थालेको उनको गुनासो छ । कार्यकर्ताको आत्मसम्मानमा ठेस पुर्याउने भन्दा स्वार्थ पुरा गर्न टिममा लाग्ने धेरै भएको उनले बताए ।

केन्द्रीय सदस्य मीन विश्वकर्मा प्रति कटाक्ष गर्दै उनले टिमलाई कमजोर बनाउन लागेको आरोप लगाए । विश्वकर्माले एक सामान्य कार्यकर्ताले जत्तिको पनि काम नगरेको कारण देउवा पक्ष कमजोर भएको उनको बुझाई छ । जनताको काम गर्ने भन्दा पनि केन्द्रमा बसेर पार्टी चलाउन खोज्दा यो अवस्था आएको उनले सुनाए । अहिले टिम यो अवस्थामा पुग्नुमा उनी आफै जिम्मेवार रहेको उनको भनाई छ।

“देउवा पक्ष हराउने मान्छेलाई पुनः पदमा पुर्‍याउनु हुन्न भन्ने मेरो लाइन हो । क्षेत्रमा जिल्लामा अझै चुनाव बाँकी नै छ । बिस्तारै नयाँ परिणाम देखा पर्छन ।,” उनले भने, “इमानदारी पूर्वक चुनावमा लड्नुपर्छ । कार्यकर्ताको मनको भावना बुझेर अगाडी बढ्ने उमेद्धवारलाई मेरो समर्थन रहन्छ ।”'

क्षेत्रीय सभापतिमा तामाङलाई समर्थन गर्ने विषयमा औपचारिक निर्णय नभएको भन्दै उनले कार्यकर्ता र पार्टीलाई समेट्न सक्ने कुरा भयो भने समर्थन गर्न सकिने बताए । उता संस्थापन पक्षका उम्मेदवार तिलकले भने आफ्नो पक्षमा मात्र माहौल बनाउँदै लगेका छन् । धरान उपमहानगर समितिका सभापति उनकै समर्थनमा विजयी भएको कारण त्यसको प्रभाव क्षेत्रमा पर्ने देखिएको छ।

प्रदेश निर्वाचन क्षेत्रमा कुनै उम्मेदवार प्रति पनि नखुलेका तिलक संस्थापन र आफू निकट इतर पक्षको मतले चुनाव जित्ने रणनीतिमा छन् ।  किशोर भने तिलकलाई पराजित गर्ने योजनामा छन् । दुवै नेताहरू कार्यकर्तामाझ लोकप्रिय रहेकाले कसको प्रभाव बढी भन्ने आगामी ७ गतेको निर्वाचनले देखाउने छ।