धनकुटा : नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत धनकुटामा भएको अधिवेशनमा प्रदेशसभा (क) को सभापति पदमा जितेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् ।

उनी २८३ मत सहित विजयी बनेका हुन । सोमबार बिहान सम्पन्न मत परिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी मोहन बान्तवा राईले २३२ प्राप्त गरेका छन् । प्रदेशसभा (क) मा जम्मा ५५० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेशसभा (क) मा सबै पदमा मतदान भएको थियो । उपसभापतिमा नगेन्द्र राई र मिलन खड्गी निर्वाचित भएका छन् । उनीहरूले क्रमशः २४२ र २२२ मत प्राप्त गरेका छन् ।

सचिवमा नगेन्द्र बहादुर तामाङ (जीवन) सञ्जय राई निर्वाचित भएका छन् । उनीहरूले क्रमशः २५० र २४४ मत प्राप्त गरेका छन् । यस्तै सहसचिवमा टङ्क प्रसाद थापा र यम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरूले क्रमशः २४० र २३६ मत प्राप्त गरेका छन् । समितिको कोषाध्यक्ष निर्वाचित समितिबाट मनोनीत गर्ने काँग्रेसको विधानमा उल्लेख छ ।

प्रदेशसभा (क) मा निर्वाचित पदाधिकारीमा उपसभापति नगेन्द्र राई रामचन्द्र पौडेल पक्षका हुन भने अरू सबै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन ।

यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ पदम बहादुर राई, धनबहादुर खड्का, भूपेन्द्र भण्डारी, दिनेश राई आठपहरिया, ईश्वरीप्रसाद सुवेदी, रोहिणी पाण्डे र राजेश्वर बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

जसमा राई, खड्का, भण्डारी, आठपहरिया र श्रेष्ठ देउवा पक्षका हुन भने सुवेदी र पाण्डे पौडेल पक्षका हुन् । प्रदेश अधिवेशन प्रतिनिधिमा महिला तर्फ सावित्री देवी श्रेष्ठ, हिमा चेम्जोङ र मुनादेवी पोख्रेल निर्वाचित भएका छन् । जसमा श्रेष्ठ दुवै पक्षको उम्मेदवार रहेको भए पनि चेम्जोङ र पोख्रेल देउवा पक्षका हुन ।

प्रदेश अधिवेशन प्रतिनिधिमा आदिवासी महिला तर्फ पूजन लिम्बू र कुसुम जोशी निर्वाचित भएका छन् । उनीहरू देउवा पक्षका हुन । प्रदेश अधिवेशन प्रतिनिधिमा जनजाति तर्फ लाखमान राई, यमप्रकाश मगर (दीपक) र साजन राई निर्वाचित भएका छन् । उनीहरू पनि देउवा पक्षका हुन । प्रदेश अधिवेशन प्रतिनिधिमा दलित तर्फ दुर्गा विक निर्वाचित भएका छन् । उनी पनि देउवा पक्षका हुन ।

गत शनिवार सम्पन्न प्रदेशसभा (ख) को निर्वाचनमा पनि सभापति पदमा राजन पौडेल सहित देउवा पक्षको वर्चस्व रहेको थियो । उनी २३३ मतसहित विजयी बनेका थिए। उनका निकटतम प्रतिस्पर्धी पौडेल पक्षका तिलक महतले १७६ प्राप्त गरेका थिए ।

जिल्लाको अधिवेशन आज हुँदै
नेपाली काँग्रेस अधिवेशन अन्तर्गत धनकुटा जिल्लाको अधिवेशन आज हुँदैछ ।

काँग्रेस धनकुटा सचिव विजयसन्तोषी राईका अनुसार जिल्ला अधिवेशनमा सभापतिका आकाङ्क्षीमा वर्तमान कोषाध्यक्ष दिनेश राई, गत निर्वाचनमा पराजित कमोट फागो र नेपाल विद्यार्थी सङ्घ धनकुटाका सभापति बालानन्द दाहाल रहेका छन् ।

वर्तमान अग्निप्रसाद पौडेल पनि सभापतिमा आकाङ्क्षी रहेको बताइए पनि हाल उनी पछि हटेको बताइएको छ । सभापतिका आकाङ्क्षी रहेका राई देउवा पक्षका हुन भने फागो र दाहाल पौडेल पक्षका हुन ।

यस्तै हाल जिल्ला समिति सचिव रहेका विजयसन्तोषी राई र जिल्ला सदस्य रहेका लेखनाथ पौडेल, निर्मल ओझा, रोषेश श्रेष्ठ, जयचन्द्र घिसिङ, राजेन्द्र प्रसाद पौडेल सचिवका आकाङ्क्षी रहेका छन् ।