धरान : नेपाली काँग्रेसको चुनावी राजनीतिमा गुटबन्दी भित्रै पनि विश्वासको वातावरण नहुने गरेको देखिएको छ । सुनसरी क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदमा देउवा समूहका उम्मेदवार भनी प्रचार गरिए पनि उक्त समूह भित्रै विश्वासको वातावरण नभएका कारण धरान नगर प्रमुख तिलक राई उम्मेदवार नहुने भएपछि उक्त कुराको खुलासा भएको हो ।

देउवा समूहका धरानका कमान्डर पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाम्फे मङ्गलवार बिहान पत्रकार सम्मेलन गरी तिलक राईले समूहलाई धोका दिएको आरोप लगाउँदै महिला नेतृ लक्ष्मी खतिवडा क्षेत्रीय सभापतिको उम्मेदवार भएको घोषणा गरे । राईले भने देउवा समूहले आफ्नो नाम उम्मेदवारको रूपमा प्रचार गरे पनि औपचारिक रूपमा घोषण नभएको दाबी गरे । उनले भने, ‘औपचारिक रूपमा देउवा समूहबाट मेरो उम्मेदवारी घोषणा भएको थिएन ।’

काँग्रेस धरान नगर समितिका सभापति हुँदा आफूलाई स्थानीय संस्थापन पक्ष भन्दै आएका तिलक राईले भने, ‘मलाई सहयोग गर्दै आएका साथीहरूले सुजेन्द्र तामाङलाई उम्मेदवार बनाउने भएपछि देउवा समूहका नेताहरूले उहाँहरूको समर्थनमा उम्मेदवार बन्न आग्रह गरेको हो ।’ हतार हतारमा आएको यस्तो आग्रह अनुसार समूह भित्र छलफल भइरहेको थियो । ढिलो तयारी गरिएकाले होला पर्याप्त छलफल हुन नसक्दा समूह भित्रै विश्वासको वातावरण बनेन । उनले भने, ‘समूह भित्रैबाट कोही अन्तर घात गर्न सक्रिय भए ।’

राईका अनुसार समूह भित्रै अगुवाको भनाई नमान्ने अविश्वासको वातावरणमा केन्द्रीय नेताहरूले स्थलगत रूपमै सहमतिको भूमिका खेल्नुपर्ने थियो त्यस्तो भएन । एक अर्का बिच टकराब गराउने उद्देश्य मात्र राखिएको जस्तो देखियो । यस्तो अवस्थामा धरान नगरवासीको विश्वास हासिल गरेको मेयरले पार्टीका साथीहरूसँग जीत–हारका लागि टकराब गर्न मुनासिब नदेखेकाले उम्मेदवार बन्न नचाहेको उनले स्पष्ट गरे ।

आफै धोका खानबाट बचेको तर कसैलाई धोका नदिएको बताउँदै मेयर राईले भने, ‘अहिलेसम्मको तयारी तथा स्थिति स्पष्ट गर्दै मैले उहाँहरू लाई पार्टीको आन्तरिक प्रतिस्पर्धा हो हिजो म तपाईँहरूको समूहमा थिइन्, अब मैले उम्मेदवारी नदिँदा तपाईँहरूलाई केही फरक पर्दैन भनी बताएको सम्म हो ।’ क्षेत्रीय सभापतिमा नउठे पनि धरान र क्षेत्रका कुरा पार्टीमा उठाउन महाधिवेशन प्रतिनिधिमा पूर्व सभापति सुरेशमान श्रेष्ठसहित केही साथीहरू उम्मेदवार हुने उनले बताए ।