काँग्रेस महाधिवेशन : आफ्नै निर्वाचन क्षेत्रमा असफल गच्छदार सुनसरी क्षेत्र नं. ३ मा आज निर्वाचन

  • मंसिर ८, २०७८
  • ७८० पटक पढिएको
  • विनय बाह्रकोटी 
alt

इटहरी : नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका विजय कुमार गच्छदार असफल भएका छन्। दुई साता देखी सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास थालेका उनी अन्ततः पछि हटेका हुन्। उनको प्रयास असफल भएपछि मंगलबार मनोनयन दर्ता सम्पन्न भएको छ। सोही पदको लागी आज निर्वाचन हुँदैछ।

सोमबार हुने भनिएको मनोनयन उनकै दबाबमा एक दिन पछाडि सरेको थियो । सहमतिको अधिकतम प्रयास गरेका उनी पछिल्लो समय थकित भएका छन् । संस्थापन इतर पक्षको बलियो प्रभाव रहेको सुनसरी ३ मा आफू निकट उम्मेदवार पराजित हुने भएपछि सहमतिको प्रयास थालेका थिए।

उनको प्रयासलाई टेवा पुग्ने गरी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पनि सहमतिबाटै अधिवेशन सम्पन्न आग्रह गरेका थिए । केही दिन अगाडी सुनसरी पुगेका उनले सहमतिमा अधिकतम प्रयास गर्न आग्रह गरेका हुन् ।

तथापि संस्थापन इतर पक्षका मेहेदी हुसेनले क्षेत्रीय सभापति बाहेक अन्य पदमा नजाने अडान लिएपछि निर्वाचनबाटै नेतृत्व छनौट हुने भएको छ । लामो प्रयासमा असफल भएपछि गच्छदारले सबैलाई उम्मेदवार हुने बाटो खुल्ला गरेका छन् । उनकै टिमबाट दुई जनाले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका थिए । गच्छदार निकट प्रदीप चौधरी र सत्यनारायण मण्डल दुवै जना चुनावी प्रतिस्पर्धामा जान तयार भएका छन् ।

उता इतर पक्षबाट पनि मेहेदी हुसेन र फुपराज शर्माको उम्मेदवारी परेको थियो । पछि शर्मालाई अन्यतै व्यवस्थापन गर्ने टिमको निर्णयपछि हुसेन सर्वसम्मत उम्मेदवार भएका छन् । अहिले सम्मको अङ्कगणित अनुसार हुसेन संस्थापन पक्षका उम्मेदवार भन्दा निक्कै शक्तिशाली देखिएका छन् ।

उता महाधिवेशन प्रतिनिधिमा बार्गेनिङ गरेका गच्छदारले त्यसमा पनि स्वतन्त्र उम्मेदवारी दिन बाटो खोलेका छन् । आफूले सक्दो प्रयास गर्दा नभएपछि उनले घरैमा बोलाएर निर्वाचनमा लाग्न आग्रह गरे ।

यसअघि उनकै गृह नगर दुहबी नगर समितिमा पनि सहमति गराउने उनको प्रयास असफल भएको थियो । उनका विश्वास पात्र टेकचन्द्र विश्वासलाई सहमतिको सभापति बनाउन नसकेपछि निर्वाचन भएको थियो । निर्वाचन मार्फत संस्थापन इतर पक्षका वेदनारायण गच्छदार निर्वाचित भए। पहिला गच्छदार निकट वेदनारायणले उनको साथ छाडेका हुन् । 

एकपछि अर्को प्रयासमा असफल भएका गच्छदारलाई अगामी निर्वाचन पनि ढुङ्गाको चिउरा हुने देखिएको छ। यसअघि पनि झिनो मतान्तरले विजयी भएका उनी पछिल्लो समय झनै अलोकप्रिय बन्दै गएका छन् । कुनै बेला गच्छदारको गढ मानिएको सुनसरी ३ अहिले उनको बुता बाहिर पुगेको छ । पछिल्लो समय आफ्नै पार्टीका कार्यकर्ताले समेत मान्न छाडेपछि उनको राजनैतिक यात्रा ओरालो लागेको हो ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved