धरान : मोरङको केराबारी गाउँपालिका-६ मा सर्पदशं उपचार केन्द्रको उपचार सेवा आज देखि सुरु गरिएको छ ।

सुनसरीको धरान र केराबारीका बासिन्दालाई लक्षित गरी सर्पदंशका बिरामीका लागि उपचार केन्द्र सुरु गरिएको हो। ३६ लाख भन्दा बढीको निर्माण लागतमा सो उपचार केन्द्र निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले बताए।

आज औपचारिक कार्यक्रम गरी केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले सो सर्पदंश उपचार केन्द्रको सेवा सुरु गरेका हुन्। उपचार केन्द्रले अव उत्तरी मोरङको पहाडी क्षेत्र र धरान सम्मका बिरामीलाई लाभ पुग्ने सञ्चालक समितिका अध्यक्ष एवम् केराबारी वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले बताए।

हरेक वर्ष सर्पको डसाइबाट उपचार नपाएर ज्यान गुमाउनु पर्ने दुखदायी अवस्थाबाट मुक्त हुने वडाध्यक्ष मगरले बताए । निर्माण समितिले २ वर्ष लगाएर सुविधा सम्पन्न सर्पदंशका बिरामीलाई उपचार गर्ने अस्पताल निर्माण सम्पन्न पछि सञ्चालनमा आएको हो ।

निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठका अनुसार ५ वटा कोठा सहितको भवनमा आकस्मिक कक्ष , अन्तरङ्ग सेवा,बैठक कक्ष, ड्युटी रुम र स्टोर रुम रहेको छ । जसमा आकस्मिक कक्षमा ३ वटा बेड रहेको छ । ५ कठ्ठा जग्गामा भवन निर्माण गरिएको हो ।

भवन निर्माण गर्नको लागि १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २२ लाख, केराबारी गाउँपालिकाबाट १७ लाख, धरान उपमहानगरपालिकाबाट २ लाख गरी सङ्घ संस्था र विभिन्न व्यक्तिको सहयोगबाट भवन र्मिाण गरिएको निर्माण समितिका संयोजक श्रेष्ठले बताए ।

नेपाल सरकारको स्वास्थ्य सेवा विभागबाट अनुमति लिएर कालोपानीमा सर्पदंश उपचार केन्द्र सुरु भएको हो। केराबारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टोप प्रसाद चौलागाईका अनुसार सर्पदंशका बिरामीले निःशुल्क उपचार पाउने बताए।

सबै औषधी उपचार एकदमै प्रभावकारी ढङ्गले दिने चौलागाईको भनाई रहेको छ । त्यहाँ गाउँपालिकाको एक जना चिकित्सक र कालोपानीमा रहेको नेपाल आर्मीको अर्को चिकित्सक गरी दुई जना सहित अन्य कर्मचारीले सेवा दिने भएका छन् । सो उपचार केन्द्रको अभावमा सर्पदंश प्रभावितलाई लक्षित गरी सेवा सुरु गरिएको प्रति त्यहाँका स्थानीय बासिन्दा खुसी भएका छन्।

धरान ६ पानवारिका समाजसेवी विश्वराज कार्कीले उपचार सेवा सुरु भएको प्रति खुसी व्यक्त गरेका छन् । उनले भने, हामीले वर्षेनी ज्यान गुमाउनु परेको थियो । सर्पदंशका बिरामीले उपचार गर्नको लागि धरानको विपी क्याम अनि महँगोमा उपचार गर्नु पर्ने बाध्यता हटेर गएको छ । इटहरी सम्म जाने समस्याबाट हामी मुक्त भएका छौ।