विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैङ्गिक हिंसा विरुद्धको अभियान गाउँ-गाउँमा पुर्‍याउनु पर्नेमा जोड दिएका छन् । उनले अभियानलाई गाउँ-गाउँमा पुर्‍याउन सके लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा आज बिहान विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैङ्गिक हिंसा अन्त्य गर्न कठिनाइ हुने भएकाले आ-आफ्नो तहमा सबै निकायले अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

निरन्तरको अभियानले लैङ्गिक हिंसा साँधैका लागि अन्त्य गर्न सकिने मन्त्री यादवले बताए । ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्न नाराका साथ अभियान सुरुवात गर्दे बिहान विराटनगरमा प्रभात फेरि निकालिएको छ । प्रभात फेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक सङ्घ संस्थाका लगायतको प्रभात फेरिमा सहभागिता रहेको थियो ।

Prabhatferi-1

देवकोटा चौकबाट सुरु र्‍यालीले बजार परिक्रमा गरी पुन : देवकोटा चौकमा आएर समापन भएको थियो । अभियान अन्तर्गत आज साँझ ५ वजे ट्राफिक चौकमा दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् । उहाँका अनुसार १६ दिन भरि नै जनचेतनामूलक विविध कार्यक्रम सञ्चालन हुने छ ।

साझा अभियानमा सरकारी निकायहरूका साथै मानव अधिकार सञ्जाल, अन्तर पार्टी महिला सञ्जाल, नेपाल बार एसोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासङ्घ, माइती नेपाल लगायतका संस्थाहरूको सहभागिता रहेको छ ।

Prabhatferi-2