धरान : नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको बन्द सत्र स्थगित भएको छ ।
दोस्रो नगर सम्मेलन विधिवत् उद्घाटन पछि शनिवार साँझ अबेर सुरु भएको बन्द सत्रमा ८१ जना नगर कार्य समितिको उम्मेदवारी मनोनयन पछि बन्द सत्र अर्को निर्णय नहुन्जेल सम्मका लागि स्थगित गरिएको नगर अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए ।
रात परेको कारण प्रतिनिधिहरूलाई घर फर्किन समस्या हुने भएको र आवश्यक तयारी गर्नुपर्ने भएकोले स्थगित गरिएको बताइएको छ । उम्मेदवारी मनोनयनको क्रममा बन्द सत्र त्यसै ढिलो भएको र केही साथीहरूले अराजक गतिविधि गरेको कारण अर्को निर्णय नहुन्जेल सम्मका लागि बन्द सत्र स्थगित गर्नुपरेको अध्यक्ष श्रेष्ठले कपुरी न्युजलाई जानकारी दिए ।
बन्द सत्रबाट माओवादी केन्द्रको ८१ सदस्यीय धरान उपमहानगर कमिटी चयन हुनेछ । त्यसमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत अनिवार्य मुस्लिम हुनेछन् । छानिएका ८१ जनामध्येबाट मात्र अध्यक्षसहित ७ पदाधिकारीहरू छानिनेछन् । धरानमा अहिले ४५२ प्रतिनिधिहरू छन् ।

































































