इटहरी : नेपाली काँग्रेस मोरङ सभापतिको लागी ३ जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट १ र इतर पक्षबाट २ जनाको उम्मेदवारी परेको छ । इतर पक्षको गढ मानिएको मोरङमा १३ औँ अधिवेशनमा संस्थापन प्यानलका उम्मेदवार डिग बहादुर लिम्बू सभापति निर्वाचित भएका थिए ।

यस पटक संस्थापन पक्षबाट दिलीप गच्छदार र इतर पक्षबाट लिम्बू र यदुकुमार विष्टको उम्मेदवारी परेको छ । त्यसमध्ये लिम्बू बढी शक्तिशाली देखिएका छन् ।
लिम्बू इतर प्यानलका आधिकारिक उम्मेदवार हुन् । सभापति निर्वाचित भएको केही समयमै कोइराला टिममा खुलेका उनी मोरङका शक्तिशाली नेताको रूपमा उदाएका छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका उनी उत्तरी मोरङबाट सभापति हुने भाग्यमानी नेता हुन् ।

मोरङको राजनीतिको केन्द्र मानिएको विराटनगर बाहिरबाट सभापति हुने अवसर पाएका उनकै कार्यकालमा काँग्रेस सबैभन्दा कमजोर भयो । मोरङका ६ निर्वाचन क्षेत्रमध्ये १ निर्वाचन क्षेत्रमामा विजयी गरेको काँग्रेसमा पुनः उनै सभापति हुने सम्भावना देखिएको छ। सबै क्षेत्रमा इतर समूह भारी मतका साथ बलियो देखिएकाले उनै लिम्बूको सम्भावना बढेको हो ।

इतर पक्षका विष्टको उम्मेदवारीले केही चुनौती बढाए पनि लिम्बूलाई पराजित गराउन सक्ने अवस्था देखिँदैन । हालका जिल्ला सचिव विष्टले गिरोहको हातमा काँग्रेस जान थालेको भन्दै काँग्रेस बचाउन उम्मेदवारी दिन खोजेको बताएका छन् । लिम्बूले आफ्नो कार्यकालमा कुनै पनि उपलब्धि नगरेको र पार्टी ठेकदारलाई जिम्मा लगाउने काम गरेको उनको भनाई छ ।

उता लिम्बूले भने टिम र पार्टीमा एकता ल्याउन आफू लागिपर्ने बताएका छन् । विगतमा गरेको गल्ती सच्याउँदै अगाडी बढ्ने उनले बताए । पार्टी कार्यालय भवन निर्माण देखी सङ्गठन सुध्रढीकरणमा लागेको तर प्रचार नभएको उनले सुनाए । विरोधी साथीहरूको विचारलाई पनि साथमा लिएर सबैलाई भूमिका दिने गरी आफू लागिपर्ने उनको भनाई छ।

संस्थापन पक्षका उम्मेदवार गच्छदार कमजोर उम्मेदवारको रूपमा देखिएका छन् । तथापि इतर पक्षका दुई उम्मेदवार भएका कारण आफू विजयी हुने उनको विश्वास छ । लिम्बूको कार्यकालमा काँग्रेस कमजोर भएको स्मरण गराउँदै उनले अब आफू सभापति हुनुपर्ने बताए । काँग्रेस भित्रको गुटगत राजनीतिलाई निस्तेज पार्ने गरी आफू अगाडी बढ्ने उनको भनाई छ । उनलाई काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको साथ छ ।

लिम्बूलाई केन्द्रीय सभापतिका दाबेदार शेखर कोइराला, मोरङका प्रभावशाली नेता मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, केदार कार्की लगायतको साथ रहेको छ ।