धरान : नेकपा एमालेको केन्द्रीय सदस्यकालागि केपी शर्मा ओलीले बन्द सत्रमा ३०१ जनाको नाम पेस गर्नेक्रममा सुनसरीका ५ जनाको नाम पनि पेस गरेका छन् ।

सुनसरीबाट मधेसी कोटामा जगदिस प्रसाद कुसियत मुस्लिम कोटामा तैयब हुसेन महिला खुल्ला कोटामा भगवती चौधरी, लक्ष्मी गौतम, प्रदेश नं. १ महिला कोटामा मञ्जु भण्डारी जनजाति महिला कोटामा अमृता सुब्बाको नाम प्रस्ताव गरिएको छ ।

मध्यरातमा सुरु भएको बन्द सत्रमा अध्यक्ष ओलीले सहमतिकालागि भन्दै नाम पेस गरेका हुन् । आफूले पेस गरेको नाममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताएका छन् । उनले भने, मैले भनेको नामहरूले फारम भर्न अनुरोध गर्छु । अरूले पनि भर्न पाउनुहुन्छ, तर त्यसो गर्दा समस्या लम्बिन्छ ।’

३०१ जनाको नाम प्रस्ताव गरेपछि ओलीले सहमत हुनेहरूले समर्थनमा ताली बजाउन आग्रह गरेका थिए । हलमा ताली बज्यो । ओलीले उनीहरूलाई उम्मेदवारी दिन आग्रह गरे ।