इटहरी : नेपाली काँग्रेस मोरङ सभापतिका लागी पुनः निर्वाचन हुने भएको छ। सभापतिका ३ जना उम्मेदवार मध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि पुनः मतदानको प्रक्रिया सुरु भएको हो ।

आइतबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार संस्थापन इतर प्यानलका डिग बहादुर लिम्बुको धेरै मत आए पनि उनले बहुमत पुर्‍याउन सकेनन् । नेपाली काँग्रेसको विधानको धारा १२ को उपधारा ५ (क) २ अनुसार सभापति विजयी हुन ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसके सोही धाराको खण्ड (क) ३ बमोजिम पुनः मतदान गर्नुपर्ने व्यवस्था छ ।

सोही बमोजिम पहिलो र दोस्रो भएका उम्मेदवार बिच पुनः निर्वाचन प्रतिस्पर्धा हुने भएको छ । इतर पक्षका लिम्बु र संस्थापन प्यानलका दिलीप गच्छदारको बिच १४ गते दोस्रो चरणको निर्वाचन प्रतिस्पर्धा हुने भएको छ । विराट नर्सिङ होम अगाडीको मैदानमा हुने निर्वाचन कार्यक्रम दिउँसो १२ बजे देखी ५ बजेसम्मको लागी तय गरिएको छ।

सभापति पदमा कुल ३४१३ मत खसेको र त्यसमध्ये त्यसमा लिम्बुको पक्षमा १५४४, गच्छदारको पक्षमा ११५९ र अर्का स्वतन्त्र उम्मेदवार यदुकुमार विष्टले ५६३ मत पाएका थिए । ५० प्रतिशत मत कटाउन एउटै उम्मेदवारले १७७० मत ल्याउनुपर्ने अवस्था थियो । जुन मत कुनै पनि उम्मेदवारको पक्षमा नदेखिएकाले पुनः मतदान गर्नुपर्ने अवस्था आएको हो ।

१३ औँ अधिवेशनमा संस्थापन पक्षबाट विजयी भएका लिम्बुले इतर पक्षबाट उम्मेदवारी दिएका छन् । इतर पक्षका प्रभावशाली नेताहरू डाक्टर शेखर कोइराला, डाक्टर मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, महेश आचार्य, केदार कार्की लगायतले लिम्बुलाई समर्थन गरेका छन् । उता गच्छदारको पक्षमा केन्द्रीय सदस्य अमृत अर्याल लागी परेका छन् ।

इतर पक्षका विष्टको उम्मेदवारीले लिम्बुलाई समस्या परेको हो । विष्टले मोरङ काँग्रेसमा तेस्रो धारको सुरुवात गरेका छन् । पार्टी भित्र शुद्धीकरणमा मुद्दा लिएर उनी निर्वाचनमा होमिएका थिए । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै विष्टले गच्छदारलाई समर्थन गर्ने बताएका छन् । गच्छदारले आफ्नो विचारलाई सम्मान गर्ने भोलि पार्टी सञ्चालनमा ठाउँ दिने वचन दिएकाले आफूले समर्थन गरेको उनको भनाई छ । कालो कोठरीबाट पार्टी सञ्चालन गर्ने पद्धतिको अन्त्य गर्न सुझाव दिएर गच्छदारलाई शुभकामना दिएका छन् ।