सौरहा : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो पटक विजयी भएका छन् ।

चितवनको सौरहमा आयोजित १० औँ राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले १८०८ मत पाएर निर्वाचित हुँदा अर्का प्रत्याशी भीम रावलले २२३ मत पाएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि आज बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरूमध्ये २ हजार ९६ मत खसेको थियो ।

२०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए ।

एमाले र माओवादी केन्द्रको एकता गत वर्ष फागुनमा अदालतको आदेशका कारण भङ्ग भएपछि एमालेले १०औँ महाधिवेशन गरेको हो ।