इटहरी : ८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट इटहरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुरधाम-५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ५ शिवालयका ३० वर्षीय कुमार खाती रहेको प्रहरीले जानकारी दिएको छ ।

सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं. १-०२-०४५ प ८२७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलमा सवार रहेका खातीलाई मोटरसाइकल तथा शरीरमा खानतलासी गर्दा झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ रुपैयाँ बराबरको गहना र १ लाख १२ हजार ६ सय रुपैयाँ तथा ३ लाख बराबरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरीले ब्रास्लेट १८४ थान, वाला २५ थान, लकेट नगदार ८५ थान, लेडिज औँठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद गरेको छ। पक्राउ परेका खातीलाई आवश्यक कारबाईको लागि जनकपुरधामस्थित भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।