झापा : झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ मा १ हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

कोरोनाको नयाँ भेरियन्ट फैलन थालेपछि होल्डिङ सेन्टरको निर्माण द्रुत गतिमा अगाडि बढेको हो । होल्डिङ सेन्टरमा खटिएका प्राविधिकका अनुसार ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

मेचीनगरको दुवागडीस्थित हडिया खोलाको बगरमा चार बिगाहा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा एक हजार जनालाई अटाउन सकिन्छ । २२ वटा छुट्टा छुट्टै आरसिसी भवनका हरेक कोठा एट्याच बाथरुम सहितका निर्माण भएका छन् ।

मेचीनगर-१४ का अध्यक्ष शंकरप्रसाद पोखरेलका अनुसार १४ वटामा क्वारेनटिन हलमध्ये दुई वटा मेडिकल अधिकृत र स्वाथ्यकर्मीले आवासको रूपमा प्रयोग गर्नेछन् । २५ करोडको लागत रहेको होल्डिङ सेन्टर गएको असार ३ गते मात्रै हनुमान कन्स्ट्रक्सन ललितपुरले निर्माण ठेक्का पाएको थियो ।

होल्डिङ सेन्टर बनेको जग्गा पनि नगरपालिकाको स्वामित्वमा रहेको छ । काँकडभिट्टा नाका आसपासमा जमिन नपाइएपछि हडिया खोला बगरमा बनाइएको मेची नगरको सूचना शाखाले जनाएको छ ।

काँकडभिट्टाबाट १७ किलोमिटरको दुरीमा रहेको होल्डिङ सेन्टर पुग्न धाइजन हुँदै भित्री सडकबाट मानव बस्ती जानुपर्छ । त्यसपछि हडिया खोलाको बगरमै होल्डिङ सेन्टर निर्माण भएको छ । सेनाले नै निर्माणाधीन होल्डिङ सेन्टरको रेखदेख गरिरहेको छ ।