धरान : किराँती समुदायको नयाँ वर्ष यलम्बर सम्वत अन्तर्गतको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विहिबार छैठौ दिन ८२ वटा बेलुन उडाएर मनाइएको छ ।

धरान-१४ स्थित विजयपुर चौकमा धरान उपमहानगरपालिका पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा धरान १४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा किरात राई यायोक्खा सुनसरीका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष राजेन्द्र राई प्राचीन किरात कालको ऐतिहासिक स्थल विजयपुर भएकोले सो स्थानबाट बेलुन उडाएर येलेसम्बत मनाइएको बताए ।

उनले भने नेपालको सम्बतहरुमा सबै भन्दा जेठो सम्बत येले सम्बत नै रहेको दाबी गरेका छन् । उनले भने यलम्बर सम्बत नेपालको प्राचीन मौलिक सम्बत भएकाले नेपाल सरकारले यसलाई राष्ट्रिय मान्यता दिनुपर्नेमा जोड दिए ।

भारतका विक्रानन्द राजाले चलनचल्तीमा ल्याएको सम्बत विक्रम सम्बतलाई राष्ट्रिय सम्बत मान्दै गर्दा नेपाल कै प्राचित नेपाली माटोको सम्बत, ३२ पुस्तासम्म शासन गरेको राजा यलम्बर राजाले शासन गरे देखिएको सम्बतलाई अपमान भएको उनको गुनासो थियो ।

त्यसै गरेर कार्यक्रममा अतिथिको रूपमा उपस्थित भएका किराया निवर्तमान अध्यक्ष बलराम राईले पनि यललम्बर सम्बत किरात राईको मात्र नभएर किरात भूगोलको सम्बत भएको दाबी गरे । उनले भने यलम्बर सम्बत किरात राईहरूको मात्र भन्ने भ्रमलाई चिर्दै यो सम्बत नेपालको सबै भन्दा जेठा सम्बत र सबै नेपालीको साझा सम्बतको रूपमा बुझ्न आग्रह गरेका थिए ।

उनले भने हामीले येशु ख्रिष्टको चलनको पश्चिमा इस्वी सम्बत र भारतको विक्रानन्दले चलन चल्तीमा ल्याएको विक्रम सम्बतलाई राष्ट्रिय सम्बत मान्दै गर्दा यही माटोको सम्बत यलम्बर सम्बतलाई पनि राष्ट्रिय सम्बतको रूपमा मान्नुपर्ने बताए ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथि सभाध्यक्षले एक एकमुस्ट रूपमा ८२ वटा बेलुन उडाएर यलम्बर सम्बतलाई स्वागत गरेका थिए । उक्त बेलुनमा प्रदेश नं. १ किरात प्रदेश र यलम्बर सम्बत ५०८२ लेखिएको ब्यानर पनि उडाइएको थियो ।

कार्यक्रममा सबै सहभागी तथा अतिथिहरू एक साथ साकेला नाचेर कार्यक्रमको समापन गरिएको थियो । यसका साथै कार्यक्रममा उपस्थित विशेष अतिथि धरान १४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई र किराया धरान नगर समिति अध्यक्ष लोकेन्द्र राई लाई फेटा गुथेर सम्मान समेत गरिएको थियो ।

यलम्वर साँझ स्थगित :
किरात सम्वत येलेदोङको अवसरमा पुस ३० गते धरानको भानुचौकमा हुने भनिएको यलम्वर साँझ स्थगित भएको छ ।

पछिल्लो समय विश्वभर फेरि नयाँ भेरिएन्टको कोरोना भाइरस फेरि तीव्र गतिमा फैलिएकोले स्वास्थ्य मापदण्डलाई ख्यालमा राख्दै कार्यक्रम स्थगित गरिएको किरात राई यायोक्खाले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

पुस ३० गते हुने भनिएको कार्यक्रम पछि कुनै समयमा भव्यरुपमा गर्ने गरी स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Press