नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी निर्वाचित भएका छन् । निर्वाचित भएसँगै जिल्ला नेतृत्वमा भण्डारीले तेस्रो कार्यकाल पुरा गर्ने भएका छन् । यसअघि २ कार्यकाल अध्यक्ष भएका उनीमाझ सुनसरी एमालेलाई पुनः बलियो बनाउने चुनौती छ । कुनै बेला एमालेको गढ मानिएको सुनसरी अहिले नेपाली काँग्रेसको प्रभाव जिल्लाको रूपमा देखिएको छ ।

सुनसरीका ४ प्रतिनिधिसभा मध्ये ३ मा काँग्रेस विजयी भएको छ भने १२ पालिका मध्ये ८ पालिकामा काँग्रेस विजयी भएको छ । १ वर्षभित्रै हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेलाई विजयी गराउन भण्डारीको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ । पार्टी विभाजनको प्रत्यक्ष असर भोगेको एमालेका असन्तुष्ट नेताको व्यवस्थापन र भावी कार्य योजना बारे भण्डारी सँग कपुरीकर्मी विनय बाह्रकोटीले गरेको कुराकानी । 

अध्यक्ष विजयी भएपछि के जिम्मेवारी महसुस गर्नुभयो ?

मैले एमालेलाई सुनसरीमा कसरी शक्तिशाली बनाउने र जनताको सेवामा पार्टीलाई कसरी समर्पित गर्ने भन्नेबारे सोचेको छु । हिजो २ कार्यकाल म अध्यक्ष हुँदा सुनसरीमा एमाले बलियो अवस्थामा थियो र अब झनै बलियो एमालेको कल्पना गरेको छु । एमालेलाई जनता सँग जोड्ने मेरो मुख्य जिम्मेवारी रहन्छ । सम्पूर्ण कार्यकर्तालाई उत्साह थप्ने र असन्तुष्ट साथीहरूलाई समेट्ने मेरो मुख्य दायित्व हो ।

सुनसरीको कमजोर एमालेलाई कसरी सशक्त बनाउनु हुन्छ ?

त्यसकालागी म सँग प्रष्ट योजना छ । अब सुनसरीमा एमालेको पुनर्जागरण अभियान चल्छ । हामी २३ हजार सङ्गठित सदस्यलाई परिचालित गर्छौ । नयाँ कार्य योजना बनाएर अगाडी बढ्छौ ।

धरानमा एमाले कमजोर भएको प्रतिवेदन सार्वजनिक भयो । अब धरानमा कसरी व्युतीएला एमाले ?

धरानमा हाम्रो आन्तरिक कमजोरीको विषयमा धेरै कुराहरू आए । अधिवेशनले यसको गम्भीर समीक्षा गरेको छ । धरान केन्द्रित विशेष कार्य योजना बनाएर हामी अगाडी बढ्दै छौ । धरानमा हामी पुरानै अवस्थामा पुग्छौ । त्यससँगै सुनसरी क्षेत्र नम्बर ४ मा सानदार तरिकाले विजयी हुन्छौ । विगतको बारेमा म बोल्दिन । क्षेत्र नम्बर ४ को विषयमा भएका नकारात्मक कुराको कुनै टिप्पणी गर्दिन । तर अब सुनसरी ४ मा पहिला जस्तो गल्ती हुँदैन ।

तपाई लामो समय भीम आचार्य सँग असन्तुष्ट रहनुभयो । अब आचार्यलाई पाखा लगाउने की ठाउँ दिएर जाने ?

हैन । पहिला के थियो अब मैले बिर्सिए । हिजो कसले मेरो लागी कति असहयोग गर्‍यो त्यो मुख्य कुरा हैन । अब मेरो काँधमा सिङ्गो सुनसरी एमालेको जिम्मेवारी आएकाले भीम आचार्य सहितको एमाले अगाडी बढाउने हो । सुनसरी एमालेमा सबैलाई जिम्मेवारी दिएर अध्यक्षमा पराजित खेमराज पोखरेल, द्वारिकलाल चौधरी लगायत रमेश बस्नेत सबैले स्थान पाउनु हुनेछ । अब कसैलाई काखा र कसैलाई पाखा लगाउने भन्ने कुराको कुनै कल्पना पनि नगर्दा हुन्छ । एकताबद्ध एमाले बनाउन म तयार छु ।

भीम आचार्य सँग सम्बन्ध सुधार्न तयार हुनु भएको हो ?

अब सबैसँग सम्बन्ध सुमधुर हुन्छ । म अध्यक्ष भए पनि मेरो जिम्मेवारी महत्त्वपूर्ण कुरा हो । अब कुनै असन्तुष्टि छैन । अब वहाँलाई सहयोग मागेर पार्टी बलियो बनाउँछु । मेरो विपक्षमा लाग्ने भगवती चौधरी लगायत नेताहरूको सहयोग माग्नेछ । कुनै आग्रह पूर्वाग्रह छैन । पार्टी बलियो बनाउनको लागी भीम आचार्यसँग कुनै पूर्वाग्रह राखिँदैन । त्यतीमात्र हैन द्वारिकालाल चौधरीजी लाई पनि सँगै लिएर जान्छु । वहाँले सर्वसम्मत बनाउने उम्मेदवारी दिनु भएको थियो तर त्यसो हुन सकेन। अब वहाँको पनि पार्टीले उचित जिम्मेवारी तोक्छ। 

rewati-nrxt-photo