धरान(डेस्क): प्रदेश नं १ मा प्रदेश लोकसेवा आयोगको अध्यक्ष र सदस्यहरुको नियुक्ती भएको छ ।

आयोगको अध्यक्षमा नेपाल सरकारका अवकाश प्राप्त सचिव उत्तम भटराई नियुक्त भएका छन् भने सदस्यमा उपसचिवबाट अवकाश प्राप्त टिकादत्त राई र महिलातर्फबाट सिमा आभास नियुक्त भएका छन् । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ मा आयोग गठन हुँदा समावेशी सिद्धान्तका आधारमा एक जना महिला हुने गरी अध्यक्षसहित बढीमा तीन सदस्य रहेनछन् । सदस्य आभास चर्चित कवि पनि हुन् भने प्राध्यापन पेशामा पनि छिन् । उनी प्रमुख विपक्षी दल कांग्रेस कोटाबाट सिफारिश भई नियुक्त भएकी हुन् । आयोगको अध्यक्ष र सदस्यहरुको कार्यकाल ६ बर्षको हुनेछ ।

ऐन अनुसार आयोगको अध्यक्ष र सदस्य नियुक्तीको लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशसभाका सभामुख र विपक्षी दलको नेता सदस्य रहेको एक सिफारिश समिति गठन भएको थियो । उक्त समितिमा प्रदेश सरकारको प्रमुख सचिवले सचिव भएर काम गर्ने व्यवस्था छ । सोही समितिको सिफारिशमा प्रदेश प्रमुखले आज आयोगको अध्यक्ष र सदस्यद्धयलाई नियुक्त गरेका हुन् ।

आयोगको अध्यक्ष वा सदस्य पदको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्तीको बेला कुनै राजनीतिक दलको सदस्य नरहेको, अध्यक्षको हकमा ४५ बर्ष र सदस्यको हकमा ३५ बर्ष पुरा भएको योग्यता राखिएको छ । यस्तै, आयोगको सदस्य मध्ये कम्तीमा एक जना बीस बर्ष वा सो भन्दा बढीअवधिसम्म कुनै सरकारी सेवामा रहेको व्यक्तिमध्यबाट र बाँकी सदस्यहरु विज्ञान, समाजशास्त्र, प्रविधि, कला,कानुन, प्रशासनलगायत विभिन्न क्षेत्रमा महत्वपुर्ण कार्य गरी ख्याती प्राप्त व्यक्तिहरुमध्येबाट नियुक्त हुने व्यवस्था छ ।