झापा : आजकल झापामा मोटरसाईकल चोरीको घटना बढिरहेको छ । मोटरसाईकल हराएकाले खोजी गरि पाउँ भन्दै सम्बन्धित प्रहरी कार्यालयहरुमा निबेदन लिएर जानेको संख्या उस्तै छ । प्रहरीले केहि महिनाअघि झापाको दमकबाट मोटरसाईकल चोरका नाईके भन्दै एक जना धिमाल थरका ब्याक्तीलाई पक्राउ गरेपछि केहि दिन मोटरसाईकल चोरीका घटनामा कमी आएपनि अहिले पुनः यो समस्या उस्तै भएको छ । पछिल्लो पटक भने झापाको दक्षिणी भेगमा रहेको ईलाका प्रहरी कार्यालय गौरिगञ्जले नेपालको नभई चोरी भएको एक भारतीय मोटरसाईकल सहित दुईजनालाई पक्राउ गरेको छ ।

गौरीगंज गाउँपालिका वडा नं. ६ देवीगंज बस्ने २७ बर्षिय शरद कुमार माक्रा र गौरादह नगरपालिका वडा नं. ७ ग्वालडुब्बाका कालचन माक्रालाई प्रहरीले पक्राउ गरेको छ । गौरीगंज गाउँपालिका वडा नं. ६ देवीगंज बस्ने उपेन्द्र यादवको बीआर ३८ के ८१३५ नम्बरको भारतीय मोटरसाइकल घरबाटै चोरी भएको थियो । उनले ईलाका प्रहरी कार्यालय गौरिगञ्जलाई यस बिषयमा जानकारी गराएका पनि थिए ।

चोरी भएको सो मोटरसाईकल गौरादह नगरपालिका वडा नं. ७ ग्वालडुब्बाका कालचन माक्राले आफ्नो घरमा त्रिपालले छापेर राखेको अवस्थामा प्रहरीले आज बिहान फेला पारेको इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान गरिरहेको गौरिगञ्ज प्रहरीले जनाएको छ ।