धरान : धरानको पुतली लाईनमा ज्वाँइ सञ्चालनमा आएको छ । ज्वाँइ खानाका संचालक हरी श्रेष्ठ आफै अविवाहित छन् । अविवाहित भए पनि उनले ज्वाँइ सत्कारको बारेमा परीवार साथीहरूबाट राम्ररी बुझेका छन् । त्यही सत्कार दिने उद्देश्य लिएर श्रेष्ठले धरान १० पुतलीलाइन स्थित विजयपुर हस्पिटल अगाडी डि-माण्डुले ज्वाँई खाना सञ्चालनमा ल्याएका हुन् ।

फागुन १४ गते बुधबारबाट औपचारीक रूपमा सुरू हुने यस खानामा ज्वाँईले पाउने सत्कार र सम्मानका साथ ज्वाँई खानाका परिकार खान पाइन्छ । ज्वाँई खानाको मेनुमा मित ज्वाँई खाना, भाञ्जी ज्वाँई खाना, बहिनी ज्वाँई खाना, छोरी ज्वाँई खाना, ज्वाँई राजा खाना गरी ५ वटा खानाको सेट रहेको छ । यस्तै, खाजामा ज्वाँई साहेब खाजा सेट रहेको छ । ज्वाई खानामा पलेटी, लाउञ्ज र डाइनिङ गरी ३ वटा सेक्सन छ । पलेटीमा भुँईमा पलेटी बसेर खाना खाने सुविधा छ भने लाउञ्जमा सोफामा र डाइनिङमा बासको कुर्सीमा बसेर खान मिल्नेछ ।

सोमबार फुड टेस्टिङका साथ भएको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले नेपाली समाजमा ज्वाँईलाई दिइने अतिथि, सत्कार र सम्मान जस्तै ज्वाँई खानामा पनि दिइने बताए । सत्कारको लागी कर्मचारीहरुलाई पनि विशेष तालिम दिइने उनले बताए । ज्वाँई खानामा मदिरा उपलब्ध नहुने र पारिवारीक वातावरण हुने समेत उनले जनाए ।

अविवाहितहरुले ससुरालीको अनुभव गर्न र ज्वाँईले पाउने सत्कार, सम्मान पाउन पनि यहाँ आउनुपर्ने उनले बताए । ‘ज्वाँई नबनेकाहरू ससुरालीमा कस्तो सत्कार गर्छ भन्ने यहाँ आएर थाहा पाउन सकिन्छ । साथमा महिलाहरू समेत विशेष रूपमा ज्वाँइ सत्कारको पाउनका लागी आउनुहोला, ’उनले भने । उद्घाटनको अबसरमा १० दिन बिशेष छुट दिइने समेत श्रेष्ठले बताए ।

ज्वाँई खाना करिब ३० लाख लागतमा सञ्चालनमा आउन लागेको हो । हाल ११ जना कर्मचारी छन् । यहाँ पाइने परीकारमा परम्परागत स्वादका लागी प्याकेटका मसलाहरु प्रयोग नगर्ने हरिका दाजु युवराज श्रेष्ठले बताए । उनले भने ‘हामी प्याकेटको मसला प्रयोग गर्दैनौं, हाम्रो रेसिपी अनुसार काठमाडौंमा सिलौटामा पिसेको मसला तयार हुन्छ, र त्यो प्रयोग गछौं । मासु पकाउँदा कुकरमा नहाली कराइमा पकाउछौ र मासु पकाउँदा आउने ग्रेभी, रस नै प्रयोग गछौं । यसले परम्परागत स्वाद दिन्छ ।’