धरान : धरान उपमहानगरपालिकामा बसेको आकस्मीक बैठकले बुधवारदेखि लकडाउनलाई कडाईका साथ लागु गर्ने निर्णय गरेको छ ।

मंगलबार सरकारले घोषणा गरेको लकडाउन सर्वसाधरणले बढी उल्लंघन गर्नुका साथै कोरोना संक्रमित युवतीसंगै एउटै प्लेनमा आएका दुई जना धरानमा पनि फेला परेपछि धरान उपमहानगरपालिकाले दुईवटा महत्वपुर्ण बैठक बसी भोली बुधवार देखि लकडाउनलाई कडाईका साथ लागु गर्ने निर्णय गरेको हो ।

बैठकले लकडाउनमा पनि सर्वसाधरणले बढी सवारी साधन चलाएको र लकडाउनको बेवास्ता गरेको भन्दै भोली देखि अतिआवश्यक पसल औषधी पसल बाहेक अरु पसल बन्द गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

बुुधबारदेखि धरान उपमहानगरपालिकाले स्वास्थ्य सेवा, बारुणयन्त्र र सरसफाईका सम्पुर्ण कर्मचारी कार्यक्षेत्रमा आउनुपर्ने र उपमहानगरका शाखा प्रमुख बाहेक सबै कर्मचारीलाई आवश्यक परेको बेलामा उपस्थित हुने गरी बिदा दिने पनि निर्णय गरेको छ ।

यसैगरी भोली बुधवारदेखि तरकारी जन्य पसलहरु पनि बन्द हुने भएको छ । तरकारी व्यावसायीहरु संगको बैठकले सो निर्णय गरेको धरान उपमहानगरपालिकाले जनाएको छ ।

बुधवार देखि धरानमा लकडाउनको उलंघन गर्ने सर्वसाधरणलाई प्रहरीले एक दिन नियन्त्रणमा लिने भएको छ । कोरोनाको बढदो जोखिमलाइ मध्यनजर गरी लागु गरिएको लकडाउनलाई पुर्ण समर्थन जनाउदै सम्पुर्ण नगरबासीहरुलाई घर भित्रै वस्न प्रहरीले आव्हान गरेको छ । औषधी पसल बाहेक सम्पुर्ण बजार पसल बन्द हुने भएकोले सवारी साधन नचलाउन पनि इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले अनुरोध गरेका छन् ।

कोरोना संक्रमणबाट जोगिन सरकारले आज मंगलबार विहान ६ बजे देखि देशैभर लकडाउन गरेको छ ।