धरान : लकडाउनको उलंघन गरेको भन्दै धरान प्रहरीले अहिले सम्म १२ जना मानिस सहित केही सवारी साधन नियन्त्रणमा लिएको छ ।

कोरोना भाईरस संक्रमणको उच्च जोखिम रहेको भन्दै सरकारले हिजो देखि देशैभर लकडाउन घोषणा गरेको छ । धरान उपमहानगरपालिका, बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, इलाका प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ लगायतको संयुक्त बैठकले धरानमा आज औषधी पसल बाहेक सवै पसल बन्द गर्ने निर्णय गरेको थियो ।

यो संगै आजदेखि लकडाउनलाई कडाई गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार आज धरानबासीलाई घर बाहिर ननिस्कन आग्रह गरिएको थियो ।

लकडाउनको उल्लंघन गरी घरबाट बाहिर निस्किएका १२ जना मानिस, १२ वटा मोटरसाईकल, ९ वटा स्कुटर, १ वटा सिटी सफारी र १ वटा टेम्पो प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । लकडाउनको उल्लंघन गर्नेलाई आजदेखि नियन्त्रणमा प्रहरीले लिन थालेको बताएको छ ।