धरान : प्रदेश एकबाट कोरोनाको परीक्षणका लागि थ्रोट स्वाब लिएर एम्बुलेन्सबाट काठमाडौँ पठाउँदा नमुना ढिलो पुग्ने गरेको छ ।

सरकारले विराटनगर, पोखरा र नेपालगञ्जबाट हवाईजहाज मार्फत कोरोना परीक्षणका लागि काठमाडौँ केन्द्रीय प्रयोगशाला पठाउने व्यवस्था गरिएको बताइरहँदा एक नम्बर प्रदेशबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सङ्कलन गरेर काठमाडौँ पठाइने गरिएको प्रदेश एक सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख सुरेश मेहताले बताए ।

कोरोना परीक्षणको लागि एक नम्बर प्रदेशबाट कोरोना आशङ्का गरिएका व्यक्तिको थ्रोट स्वाबको नमुना सङ्कलन गरी पठाउँदा निकै समस्या भएको प्रमुख मेहताको भनाई छ ।

धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दिनमा लिएको परीक्षणको १२ वटा नमुना आज बुधवार एम्बुलेन्स मार्फत काठमाडौँ पठाइएको छ । बुधवार बिहान पठाइएको नमुना साँझ मात्रै पुग्ने र परीक्षण हुने हुँदा आशङ्का गरिएका मानिसको अवस्थाबारे ढिलो मात्रै रिपोर्ट पाइने भएकोले आशङ्का गरिएका बिरामीलाई राख्न समस्या हुने गरेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

यसैबिच कोरोना भाइरस कोभिड-१९ को परीक्षण अब धरानमा नै गर्ने निर्णय सरकारले गरेको छ ।

धरानसँगै पोखरा र नेपालगन्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन लाग्ने सरकारले जनाएको छ ।

कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको हिजो मङ्गलवार बसेको बैठकले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने निर्णय गरेको हो ।

यसका लागि आवश्यक परीक्षण सामाग्री र तालिमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भने कोरोनाको परीक्षण गर्ने ल्याब तयार गरी सकेको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरका अनुसार सम्पूर्ण तयारी पुरा भइसकेको छ, अब सरकारले किट पठाउने बित्तिकै यहीबाट कोरोनाको परीक्षण हुनेछ ।