झापा : विश्वभरि महामारीका फैलिँदै गएको नोवल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका त्रासका कारण दमकको नयाँ सब्जीबजार समेत आजदेखि बन्द भएको छ ।

दमक-६ स्थित नयाँ सब्जी बजार तरकारी तथा फलफूल व्यवसायी सङ्घले आजदेखि आफ्नै सुरक्षाका कारण देखाउँदै सब्जी बजार बन्द गराएका हुन् । लकडाउन समयभरि आफ्ना व्यापार,व्यवसाय सञ्चालन नगर्ने भएको त्यहाँका व्यवसायीहरूले बताएका छन् ।

सरकारले दैनिक उपभोग्य खाद्य सामाग्री सञ्चालन गर्न आग्रह गरिआए पनि यहाँका व्यवसायीले भने सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले सब्जी बिक्रीको कारोबार बन्द गर्नुपरेको सङ्घका सचिव विपिन बस्नेतले बताए ।

लकडाउन पछि दुई दिन भने बिहान ७ देखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि ८ बजे साँझसम्म सञ्चालन गरिँदै आएको थियो । त्यहाँ दिनमा ६ घण्टा भने बन्द हुँदै आएको थियो ।

दमकसहित यस क्षेत्र आसपासको नै सब्जी भण्डारण सहित विक्री स्थल मानिने बजार पूर्ण रूपमा प्रभावित भएपछि सब्जीको भाउ आकासिएको छ । छिटफुट रुपमा खोलिएका सब्जी पसलमा समेत हरियो सब्जी आयात हुन नसक्दा एक्कासि बजार मूल्य वृद्धि भएको हो ।

सरकारले कोरोना भाइरस भित्रन नदिन गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ । लकडाउनका समयमा प्रशासनले अत्यावश्यक बाहेक भिडभाड हुने उद्योग,व्यापार तथा आवतजावतमा पूर्ण रोक लगाउँदै आएको छ । लकडाउनका कारण दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिन सुरक्षित तवरले औषधीसहित दैनिक उपभोग्य खाद्य सामाग्री उपलब्ध गराउन आग्रह गरी आएको छ ।