पथरी : पथरीशनिश्चरे नगरपालिकाको सक्रियतामा पथरीशनिश्चरे नगरवासीलाई बाहिर ननिस्किन आव्हान गर्दै माइकिङ थालिएको छ ।

जनप्रतिनिधि,प्रहरी र व्यापार सङ्घका प्रतिनिधि सहितका टोलीले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई आग्रह गर्दै माइकिङ थालिएको नगर प्रवक्ता याम प्रसाद गुरागाँइले जानकारी दिए ।

करोनाको सङ्क्रमण नफैलियोस् भनेर सरकारले ‘लकडाउन’गरेको अवस्थामा पनि सोको अवज्ञा गर्दै सडकमा आएका नगरवासीलाई सम्झाएर घरमै बस्न आग्रह गरिएको गुरागाँइले जानकारी दिए ।

माइकिङका क्रममा जमघट गरी बसेका मानिसहरूलाई सम्झाउँदै घर पठाउने तथा मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने जस्ता कुराहरू जानकारी गराइएको उनले बताए । सबै वडामा एक चरण माइकिङवाट कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि बाहिर फेरका मानिसहरूसँग भेटघाटै नगरी सुरक्षित हिसाबले आफ्नै घरमा बस्नु नै सबैभन्दा उत्तम उपाय भएको जानकारी गराइने छ ।

प्रहरीले नगरवासी कोही पनि बाहिर ननिस्किई सुरक्षित तवरले घरभित्रै बस्ने कुरामा अझ कडाइ गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

यसै बिच नगरका जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घ पथरीको बैठकले बजारमा कृत्रिम अभाव र कालोबजारी सिर्जना गर्न नदिन आफ्नो तर्फबाट सक्रियता अपनाउने निर्णय गरेको छ । बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव र कालोबजारी रोक्नका लागि नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले बजारमा कृत्रिम अभाव र कालोबजारी गरेको भेटिएमा कडा कारबाही गर्ने निर्णय गरेको हो ।

खाद्यान्न, औषधि सहितका अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि पथरी उद्योग वाणिज्य सङ्घसँग समन्वय गर्ने पनि निर्णय भएको छ ।

यसैबिच, नगरपालिकाको आव्हानमा नगर अस्पताल सहितका नगरपालिका मातहतका स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मी, एम्बुलेन्स चालकले सुरक्षित पोसाकमा आफ्नो काममा सक्रियता जनाइरहेका छन् ।