धरान : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरे संगै नेपालमा फेरी अर्काे उपत्यका बाहिर पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् ।

कोरोना भाइरस (कोभिडा(१९) को चौथो संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ जानकारी दिएको हो ।

उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनी चैत ११ गते सेती अस्पतालमा भर्ना भएका थिए । ३४ वर्षिय ति युवा दुवईबाट नेपाल फर्किएको बताईएको छ ।

यता शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समिक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ ।

भारतको कोलकत्ताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान मुलुक भित्र्याउन, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार विन्दुदेखि बजार सम्मको बाटोमा सवारी साधन सञ्चालन गर्न सहजिकरण गर्न, विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउँदा पूर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्न तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरिएको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिएका छन् ।

लकडाउन केही खुकुलो बनाउने भनिएको बेला उपत्यका बाहिर पहिलो पटक कोरोना संक्रमित भेटिनुले थप त्रास फैलिएको छ । नेपालमा यो संगै संक्रमितको संख्या ४ पुगेको छ भने एक जना निको भएका छन् भने बाकीको अस्पतालमा उपचार भईरहेको छ ।