धरान  : धरान लकडाउनको बेलामा अत्यावश्यक बस्तु सर्वसाधारणले खरिद गर्न नपाएको गुनासो बढेपछि धरान १३ नम्बर वडाले आज आइतबार देखि तरकारी घर घर पुर्‍याउन सुरु गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले मुलुक भर नै लकडाउनको घोषणा गरेसँगै लकडाउनमा घर बाहिर निस्किन नपाएकाहरूलाई औषधी, तरकारी र अत्यावश्यक सामाग्री १३ नम्बर वडावासीलाई घर घरमा पुर्‍याइदिन १३ नम्बर वडाले थालेको हो ।

सर्वसाधारण लकडाउनको बेलामा घर देखि बाहिर निस्किन नपाउँदा तरकारी जन्य वस्तुको भाउ अत्यन्तै महँगो भएको गुनासो गर्न थालेपछि १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको संयोजकत्वमा गठित वडा स्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि र्यापीड रेस्पोन्स टिमले आज आइतबार देखि तरकारी सर्वसाधारण घर घरमा पुर्‍याउन थालेको हो ।

कृषि उपज बजार स्थल धरान १३ र १३ नम्बर वडा कार्यालयको सहकार्यमा दुई वटा गाडीबाट तरकारी जन्य वस्तु सर्वसाधारणको घर घरमा पुर्‍याउन थालेको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।

१३ नम्बर वडाले आलु प्रति केजी ४५ रुपैयाँ, प्याज प्रति केजी ५० रुपैयाँ, साग प्रतिमुठ्ठा १५ रुपैयाँ, टमाटर प्रति केजी ४५ रुपैयाँ, फुल कोभी प्रति केजी ४५ रुपैयाँ र मुला प्रति केजी १५ रुपैयाँका दरले सर्वसाधारणलाई बिक्री वितरण गरिँदै छ । यो मूल्य थोक मूल्य भन्दा ५ रुपैयाँ बढी भएको वडाध्यक्ष काफ्लेले बताए ।

यसरी वडाले १३ नम्बर वडाको टोल टोल र चौक चौकमा तरकारी जन्य वस्तु ल्याएर खरिद बिक्रीका लागि सहज बनाएकोमा वडावासीलाई धेरै सहज भएको १३ नम्बर वडावासी गणेश परियारले बताए ।

बजारमा महँगोमा बिक्री भइरहेको तरकारी आफ्नै घर आँगनमा थोक मूल्य भन्दा ५ रुपैयाँ बढीले पाउँदा तरकारीमा कालो बजारी को पिडा सर्वसाधारणले भोग्नु नपर्ने वडावासीहरू बताउँछन् ।

१३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले वडावासीलाई अत्यावश्यक कुनै पनि सर सामानको आवश्यकता परे आफ्नो मोबाइल नम्बर ९८४२१७३१४० मा बिहान ८ बजे देखि ५ बजे सम्ममा सम्पर्क गरेमा सेवा प्रदान गर्न सकिने बताए । उनले भने केही सारो गाह्रो परे म वडाध्यक्षलाई फोन गर्नुस् ।