धरान : धरान उपमहानगरपालिकाले कोरोना रोकथाम नियन्त्रण उपचार तथा राहत कोष स्थापना गरेको छ ।

विहिबार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले कोष स्थापना गर्ने निर्णय गरेको हो । कोषमा नगरपालिकाको आकस्मिक कोषबाट २५ लाख राख्ने निर्णय गरेको सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिएका छन् । कोष स्थापना भएको दिननै सो कोषमा साढे २९ लाख रुपैंया राहत जम्मा भएको छ ।

विहिबार नै सो कोषमा धरान ३ का श्याम सोनीले १ लाख, धरान १० का डा. हरी शर्माले १५ हजार, धरान १ का मदनमान अमात्यले १० हजार १ रुपैया, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २५ हजार, घण्टाघर व्यावस्थापन समितिले ३ लाख रुपैया गरी जम्मा ४ लाख ५० हजार १ रुपैया गरी कुल साढे २९ लाख १ रुपैया कोषमा रकम जम्मा भएको धरान उपमहानगरपालिकाका सुचना अधिकारी खगेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार दाताहरुले दिएको रकम पनि यो कोषमा राखिनेछ भने राहतमा भएको खर्च पनि यहीबाट गरिनेछ । बैठकले मन्त्रालयले पठाएको राहत वितरणको नमुना मार्गदर्शन वमोजिम राहत वितरण गर्ने निर्णय पनि गरेको छ । यो मार्गदर्शनको २५ नम्बर बुँदाअनुसार कसैलाई पनि दोहोरो नपर्ने गरी आवश्यकता र औचित्य पुष्टी हुने गरी वडा कार्यालयले राहत वितरण गर्ने निर्णय बैठकले गरेको छ ।

साथै, वडाहरुबाट प्राप्त भएको राहत पाउनुपर्नेहरुको नामावलीलाई उपमहानगरले अन्तिमरुप दिएपछि सोही नामावलीको आधारमा मात्र राहत वितरण गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।