धरान : नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरान उपमहानगरले स्थापना गरेकोे ‘फुड बैंक’ मा २ हजार किलो चामल सहयोग गरेको छ ।

धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकलाई शुक्रबार २ हजार किलो चालम सहयोग गरेको नेपाली कांग्रेसका धरान उपमहानगर सचिव श्याम पोखरेलले जानकारी दिए । लकडाउनका कारण समस्यामा रहेका परिवारलाई लक्षित गर्दै धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकलाई चामल हस्तान्तरण गरिएको नेपाली कांग्रेस धरान उपमहानगर समितिले जनाएको छ ।

नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरान नगरबासीलाई विश्वमा तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट जोगिन लकडाउनको अवधिभरि घरभित्रै सुरक्षित तरिकाले बस्नका पनि आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिमबाट जनतालाई जोगाउन नेपाल सरकारले लकडाउन घोषणा गरेकाे विषम् परिस्थितिमा पनि कोरोनाको नाममा राहतमा अनियमितता, भ्रष्टचार भएको भन्ने कुरा बाहिर आएकोमा यस्ता गतिविधिमा संग्लनहरुलाई सरकारले तुरुन्त कार्वाही गर्नुपर्ने भन्दै नेपाली कांग्रेस धरान उपमहानगर समितिको ध्यानाकर्षण भएको सचिव श्याम पोख्रेलले बताए ।