इटहरी : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा रहेको सलकपुर सामुदायिक वनमा सुरक्षाकर्मी र सिकारी बीच गोलि हानाहान भएको छ । गोलि हानाहान पछी वनको उत्तरी सिमाना क्षेत्रमा सिकार खेलिरहेका ३ जना सिकारी पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुर र सशस्त्र वन रक्षक सलकपुर डिभिजन वन कार्यालयको संयुक्त टोलीले २ नाल भरुवा बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका आमजुँगीका ३५ वर्षीय डम्बरबहादुर जोगी, सोही ठाउँका २७ वर्षीय किसान कार्की र झापाको धाइजनका २७ वर्षीय किरण धिमाल रहेका छन् ।

सिकार खेलिरहेको थाहा पाएपछि गएको सुरक्षाकर्मीहरुलाई देखेपछि सिकारीले फायर गरेका थिए । सिकारीको संख्या ठूलो भएको र हतियारसहित आमनेसामने भएपछि सशस्त्र प्रहरी बलबाट जवाफी फायर गरेर नियन्त्रणमा लिइएको बताइएको छ ।

वन रक्षकबाट ७ राउण्ड, सशस्त्र प्रहरीबाट १ राउण्ड र सिकारीबाट ९ राउण्ड फायर भएको प्रहरी निरीक्षक बिदुर भट्टराईले बताए ।