इटहरी : सुनसरीको दुहबीमा लकडाउनको बेला इँटा उद्योग चलाएको जानकारी मिडियालाई दिएको विषयमा झडप भएको छ । स्थानीय मोहम्मद ताबिज हुसेनले दुहबीको ९ मा रहेको जय बाबा इँटा उद्योग सञ्चालन गरेको विषयमा स्थानीय मिडियामा सूचना दिँदा वडाध्यक्ष लगायतले कुटेको आरोप लगाएका छन् ।

दुहबी ९ छातावेलीमा दुई पक्षबिच भएको झडपमा एक प्रहरीसहित एक दर्जन युवा घाइते भएका थिए । झगडामा प्रहरी जवान अनिल यादव घाइते छन् ।

स्थानीय हुसेनले वडाध्यक्ष समेत संलग्न रहेर सञ्चालन हुँदै आएको इँटा उद्योग लकडाउनमा समेत खुलेको भन्दै स्थानीय मिडियालाई जानकारी दिएपछि वडाध्यक्षले कुटेको आरोप लगाएका छन् । इँटा भट्टा बन्द गर्नु पर्छ भनेर सूचना दिने पक्ष र किन सूचना दीइस भन्ने पक्ष बिच विवाद उत्पन्न भएको थियो ।

दुई समूह बिच वादविवादले उग्र रूप लिए पछि आज बिहान ८ बजे झडप हुँदा १३ जना घाइते भएका छन् । घाइते ताबिज मियाँका अनुसार लकडाउनको समयमा इँटा उद्योग सञ्चालन गर्दा त्यहाँ काम गर्ने भारतीय मजदुरहरू गाउँ घुम्ने गरेको सूचना प्रहरी र सञ्चार कर्मीहरूलाई दिएको भन्दै दुहबी ९ का वडाध्यक्ष मेहदी हुसेनको निर्देशनमा आफूहरूमाथि आक्रमण भएको बताए ।

प्रहरीलाई पटक पटक उद्योग सञ्चालनमा रहेको जानकारी गराए पनि अझै सम्म बन्द हुन् नसकेको आरोप उनीहरूले लगाएका छन् ।

वडाध्यक्ष भन्छन् 'राहतको विषयमा राजनीति हुन् खोज्यो'

कुटपित्को विषयमा दुहबी ९ का वडाध्यक्ष मेहदी हुसेन भने राहतको विषयमा राजनीति गर्न खोजेको बताउँछन् । आफूले कसैलाई हातपात नगरेको बताउँदै राहतको विषयलाई लिएर स्थानीयहरू बिच झडप भएको आफूले जानकारी पाउनसाथ प्रहरीलाई जानकारी गराएको उनी स्पष्टीकरण दिन्छन् ।

स्थानीयहरू जनताहरू भने वडाध्यक्षको कुरा मान्न तयार छैनन् । झगडा भएको २ घण्टा पछि राहत वितरण सुरु बहेको स्थानीयको दाबी छ । दुहबी ९ छाताबेली स्थानीय मो मोलिमका अनुसार राहतको विषयमा कुनै झडप नभएको बताए । 'राहत त झडप भएको २ घण्टा पछि वितरण गरिएको हो ।'