इटहरी : नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रमशेजंग रायमाझीले विकास बजेटलाई रकमान्तर गरेर भएपनि जनता बचाउन माग गरेका छन् ।

उनले लकडाउन लम्बिनसक्ने भन्दै खर्च हुन नसक्ने बिकाश बजेट जनतालाई राहत दिने काममा खर्च गर्न माग गरेका हुन् । कोरोनाका कारण जनता मारमा परेको भन्दै सांसद रायमाझीले तत्काल स्थानीय सरकारमार्फत जनतालाई राहत दिनुपर्ने बताए ।

जनताको स्वास्थ्यमा खेलबाड गर्दै सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनको भनाइ छ । ‘सरकारले विकास खर्चका लागि छुटाएको बजेट जनताको जीवन रक्षाका लागि घरघरमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई अनुदानका रुपमा निकासी दिएर तत्काल जनताको जीवन रक्षा गरोस्,’ उनले भने,

‘जनता खान नपाउने अवस्थामा छन् तर नेकपाका सरकार मन्त्रीहरु भ्रष्टाचारको नयाँ नयाँ रेकर्ड कायम गर्ने देखिन्छ । जनतालाई राहत तत्काल स्थानीय सरकारमार्फत वितरण गरोस् ।’

कोरोनाको महामारीमा जनता र मिडियाको ध्यान जाँदैन भनेर रक्षामन्त्री इश्वर पोख्रेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भ्रष्टाचारमा लिप्त हुन पुगेको उनको आरोप छ । सांसद रायमाझीले सरकार कोरोनाबाट जनता जोगाउन जिम्मेवार नभएको भन्दै जिम्मेवार बन्न आग्रह गरेका छन् ।