धरान : धरानमा गतबर्ष बैशाख अन्तिममा देखिएको डेंगु यसपटक चैत महिनामै देखापरेको छ । अहिले सम्म धरानमा तीन जना डेंगु संक्रमित भेटिएका छन् ।

धरानको विरेन्द्र मेडिकल हलमा विरामी भएर स्वास्थ्य परिक्षण गर्न आईपुगेका धरान-१२ का ५४ बर्षिय एक महिला र धरान-१५ का १९ बर्षिय एक युवामा डेंगु भेटिएको विरेन्द्र मेडिकल हलले जनाएको छ । यस भन्दा अघि धरानको सन्ध्या इन होटलका चालकमा पनि डेंगु संक्रमण भेटिएको थियो । अहिले उनी निको भईसकेका छन् ।

धरानमा गत बर्ष बैशाख अन्तिम देखि देखा परेको डेंगु जाडो महिनामा पनि फाट्ट फुट्ट देखिदै आएकोमा अव गर्मियाम सुरु भए संगै फेरी धरानमा डेंगुको संक्रमण देखिन थालेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका बरिष्ठ कबिराज रामबाबु यादबले जानकारी दिए ।

यो वर्ष अलि चाँडै डेंगु धरानमा देखिएकाले सर्वसाधरणले घर वरीपरि पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी छोपेर राख्नुपर्ने र फ्रिज, कुलरको पानी सफा गरीरहनुपर्ने, डेंगु संक्रमणको जोखिमबाट बेलैमा सचेत हुनुपर्ने कबिराज यादबले बताएका छन् ।

अहिले सिंगै मुलुकको ध्यान कोरोना भाईरसमा केन्द्रित भईरहेकोे बेलामा यस्तो अवस्थामा सर्वसाधरण आफैले सचेतता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।