धनकुटा : जिल्लाको धनकुटा नगरपालिका ५ स्थित माथिल्लो र तल्लो कोप्चेमा पुग्दा ओरेन्ज(सुन्तला) रंगका लहरै घरहरु देखिन्छ । एउटै कलरका घरहरुले कोप्चेको सुन्दरतामा आकर्षण थपिएको छ । त्यसैले त धनकुटाको कोप्चे पुग्नेहरु ती घरहरुलाई पृष्ठभुमी बनाएर सेल्फी नखिचि फर्कदैनन् ।

स्थानीय टोल वस्ती संगठनले मिलेर तल्लो र माथिल्लो कोप्चेका सबै घरहरुलाई ओरेन्ज कलर गरेका हुन् । यसमा धनकुटा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ । खास गरी धनकुटाको पर्यटन विकास गर्न र जिल्लाको पहिचान बनेको खोकु छिन्ताङ क्षेत्रको सुन्तलालाई प्रर्वद्धन गर्न पनि ती घरहरुलाई ओरेन्ज कलर गरिएको हो ।

1 3

धनकुटा नगरपालिकाका पर्यटन शाखा प्रमुख विकास अधिकारीका अनुसार एक सय २० को हाराहारीमा घरहरुलाई सुन्तले रंग लगाइसकेको छ । ‘खोकुको सन्तुला असाध्यै मिठो र प्रसिद्ध छ, त्यसैको प्रतिक स्वरुप घरहरुलाई सुन्तले रंग गरिएको हो,’अधिकारीले भने ।उनका अनुसार खोकु छिन्ताङको गेटवे पनि धनकुटा बजार भएकोले पर्यटन प्रर्वद्धनको उद्देश्यले पनि घरहरु ओरेन्ज कलर गरिएको हो ।

यो कलरले धनकुटामा समानताको पनि उदाहरण पनि प्रस्तुत हुने उनको भनाई छ । उनी भन्छन्,‘धनी र गरिबको घर सबै एकै कलरको समान देखिन्छ । को धनी, को गरिब भन्ने छुटिदैन । समानताको लागि पनि यो अभियान हो ।’ वडा ५ को माथिल्लो र तल्लो कोप्चेमा मात्र होइन, नगरपालिकाले बजार क्षेत्रका घरहरुमा पनि यो अभियान थालेको उनले बताए ।

वडा नं ५ का अध्यक्ष धनबहादुर राईका अनुसार धनकुटामा नेपालकै गुणस्तरीय र मिठो सुन्तला उत्पादन हुन्छ । त्यसैको प्रतिकात्मकरुपमा घरहरुमा सुन्तले रंग गरिएको उनको पनि भनाई छ । एकै रंगका घरहरु बनेपछि चिटिक्क, सफा देखिदा सबैलाई आकर्षित गर्ने र पर्यटन प्रर्वद्धन पनि हुने अपेक्षा गरिएको अध्यक्ष राईले बताए ।

2 3