दमक : झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसको पक्की कार्यालय भवन निर्माण गरिएको छ ।
दमक–५ स्थित काङ्ग्रेस नगर समितिको कार्यालयसँगै जोडिएको क्षेत्रीय समितिको कार्यालय भवन करिब २७ लाखको लागतमा निर्माण गरिएको पार्टी क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए ।
पार्टी कार्यालय भवन निमार्ण गर्न पार्टीका कार्यकर्ता, शुभेच्छुकसहित मुगाधन कृष्णकुमारी राई स्मृति ट्रष्टको सहयोग प्राप्त भएको भण्डारीले बताए । आगामी पुसभित्र उद्घाटन गरिने उक्त एक तले पार्टी कार्यालय भवनमा एक हलसहित चार कोठा रहेका छन् ।
क्षेत्रीय सचिव धर्मानन्द भट्टराईका अनुसार काङ्ग्रेस दमकको समेत कार्यालय भवन पनि थप व्यवस्थित गरिने भएको छ । नगर पार्टी कार्यालयको स्तरोन्नति गर्न विभिन्न संरचनाका काम धमाधम भइरहेका काङ्ग्रेस नगर उपसभापति राजकुमार गौतमले जानकारी दिए।