धरान: धरानमा चार दिनदेखि जारी ‘चासोक तङ्नाम साँस्कृतिक पर्यटन उत्सव–२०७५’ मंगलबार सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ धरान नगर समितिको आयोजनामा धरान–१५ स्थित चुम्लुङ हिम परिषरमा शनिबारदेखि शुरु भएको चार दिने साँस्कृतिक उत्सव मंगलबार सम्पन्न भएको हो । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा गोबिन्द तुम्बाहाङको प्रमुख आतिथ्यमा साँस्कृतिक उत्सवको समापन भएको थियो । समापनको क्रममा बोल्दै प्रदेश प्रमुख डा. तुम्बाहाङले नेपालको संविधान २०७२ का अनुसार देश धर्मनिरपेक्ष भएकोले सबै जातीले आ–आफ्नो धर्म, संस्कार, संस्कृति अनुसार चाड मान्नुपर्ने बताए । निकै छोटो समय बोलेका डा. तुम्बाहाङले भने ‘नेपालको संविधान २०७२ मा नै सबैको हक अधिकार समेट्दै धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएकोले सबैले आ–आफ्नो धर्म, संस्कृति अनुसार चाड पर्व मनाउदै जानुपर्छ ।’ गतसाल जस्तै यसवर्ष पनि भब्य रुपमा चासोक तङ्नाम आयोजना गरेकोप्रति आयोजकलाई उनले धन्यवाद दिए ।

कियाचुका केन्द्रीय उपाध्यक्ष कमल तिगेलाले आदबीबासी जनजातीहरुको मौलिक पर्वहरुमा दिइएको राष्ट्रिय विदा सरकारले कटौती गरेकोप्रति कडा आलोचन गरे । ‘आदिबासीहरुको विदा कटौती गरेर सरकारले गम्भिर गल्ती गर्यो, म दुःख प्रकट गर्छु,’उनले भने,‘बाह्रवटा राष्ट्रिय विदा दिइएको छ, त्यो सबै हिन्दुधर्मको मात्र छ ।’ त्यस्तै, कियाचुका केन्द्रीय सचिब डा.योगेन्द्र पालुङवाले नेपालमा रहेका सबै जातजातीलाई समान व्यावहार नगरेको आरोप लगाए । राज्यले एकल जातीय धर्मलाई मात्र महत्व दिएको संकेत गरे । ‘राज्यले सबै जातजातीको साझा फुलबारीलाई समान व्याहार गर्नुपरथ्यो, तर, हिन्दु धर्मलाई मात्र लिएर हिड्यो, यसप्रति म खेद प्रकट गर्छु,’उनले भने ।

chask 1

राज्यले यी कुराहरुलाई चाडै सच्याउनु पर्नेमा उनले जोड दिए । यदी यसलाई नसच्याए आन्दोलन गर्ने चेतावनी समेत दिए । चुम्लुङले अहिले आफ्नो पहिचानसंगको मुद्दालाई लिएर हिडिरहेको समेत उनले बताए । त्यसैले प्रदेश १ को नामाकरण लिम्बूवान राखिनुपर्ने जोड दिए । ‘चुम्लुङले आप्नो पहिचानको मुद्दालाई छोडेको छैन, स्पष्ट हुनुस्, त्यसैले प्रदेश १ को नामाकरण लिम्बूवान नै हुनुपर्छ,’उनले भने,‘यदी अरु नै नामाकरण गर्ने हो भने लिम्बू छुट्नु भएन ।’

समापनको अवसरमा धरानका १३ वटै जातीकोतर्फबाट नेवाः देःय दबूः का धरान नगर अध्यक्ष मनोहर श्रेष्ठले शुभकामना मनतव्य राखेका थिए । मंसिर पूर्णिमा ‘उधौली पर्व’मा मनाउँदै आएको चासोक तङ्नामको अवसर पारेर कियाचु नगर समितिले प्रत्येक वर्ष साँस्कृतिक उत्सव समेत आयोजना गदै आएको छ । साँस्कृतिक उत्सवमा लिम्बूजातीका मौलिक परिकारका खाना तथा भेषभुषाहरुको स्टलहरु राखिएको थियो । त्यसैगरी, मौलिक नृत्य धान नाच, च्याबु्रङ नाच, ढोल नाचलगायतका मोलिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । लिम्बूजातीको भाषा, धर्म, लिपि, संस्कार, संस्कृति पुस्तानतरण गर्नको लागि यो साँस्कृतिक उत्सवको आयोजना गरिएको कियाचु धरान नगर अध्यक्ष तथा कार्यक्रम संयोजक सुबास हुक्पाचोङबाङले बताए ।