धरान: २१४६ ज्यालो ल्होछार (फाग् ल्हो अर्थात सुगुर वर्ष) धरानमा पनि मनाइएको छ ।

हिमाली शिङ्शावा भोटिया समाज धरानले कुकुर वर्गबाट सुगुर बर्गमा प्रबेश गरेको अवसरमा ल्होछार मनाएको हो । धरान–१५ बगरकोटस्थित आफ्नै कार्यालय परिसरमा मनाइएको ल्होछार कार्यक्रमको उद्घाटन प्रदेश १ का उद्योग पर्यटन, बन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतले गरे । कार्यक्रमलाई सम्बोधन गदै मन्त्री कुसियैतले समाजको निर्माणाधिन भवनको लागि आवश्यक बजेट व्यावस्था गरिदिने वचन दिए । उनले चालू आर्थिक वर्षमा र आगामी बजेटमा समेत बजेको व्यावस्था गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा लामा पुरोहितले लुङवा गाडेर फेदमा सतविज छरेर अन्नवाली चढाउदै नयाँ वर्षलाई स्वागत गरिएको शिङ्शावा कल्याण केन्द्र सुनसरी अध्यक्ष निमा पोङस्यूवाले बताए । उनका अनुसार चर्तुरदर्सी, औशी र प्रतिपदाको पहिलो दिनसम्म यो पर्व मनाइन्छ । यो पर्व चन्द्र पात्रो अनुसार मनाइन्छ । त्यसैगरी, कार्यक्रममा धनुषबाण प्रतियोगिता समेत गरिएको थियो । धनुषबाण प्रतियोगितामा दुई समूह ज्या संघ अर्थात राजनीतिक समूह र छ्ेय संघ अर्थात धर्म समूह बनाएर प्रतियोगिता गराइएको छ । प्रतियोगिताको विजेताले नगद ३ हजार रुपैयाँ प्रदान गरिएको छ ।

यस समुदायले राजनीतिक समूहले जिते देशमा शान्ति अमनचयन नहुने र अस्थिर राजनीति हुन्छ भने धर्म समूहले जिते देशमा शान्ति, समृद्धि हुने समुदायको धार्मिक विश्वास लिने गरेको पोङस्यूवाले बताए । कार्यक्रममा सांस्कृति नृत्यहरु पनि देखाइएको थियो । मिठो–मिठो खानेकुरा खाई शुभकामना आदानप्रदान गदै ल्होछार मनाइएको थियो । प्रदेश १ की सांसद सावित्री जोशी, धरानका जातीय संघसंस्थाका प्रतिनिधिलगायतको सहभागीता भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष मिङ्मा भोटेले गरेका थिए ।