इटहरी : प्रदेश १ का जिल्लामध्ये सुरक्षाका हिसाबले सुनसरी संवेदनशील मानिन्छ । तराईका भारतीय सीमावर्ती क्षेत्रमा बढी भारतीय संगठीत अपराधिक गिरोहबाट नेपालीको हत्या हुने गरेकोले सुनसरीबासीलाई सुरक्षाको चिन्ताले बढी नै पिरोल्छ ।
यहाँ शृंखलाबद्ध रुपमा घटना हुने क्रममै मंगलबार रामधुनीमा १ जना ज्येष्ठ नागरिक र सोमबार इटहरीमा १ जना महिलाको हत्या भएको छ । रामधुनी वडा नं. १ का ८५ वर्षीय नरबहादुर क्षेत्री भण्डारीको मंगलबार कोठामै शव भेटिएको थियो । टाउकोमा चोट लागेको अवस्थामा नरबहादुर मृत अवस्थामा भेटिएकाले घटनालाई शंकास्पद रुपमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जनाए । ‘घरबाट केही सामानसमेत हराएकाले गर्दा चोरीसंग सम्बन्धित हुनसक्ने ढंगले अनुसन्धान केन्द्रित गरेका छौँ’ एसपी अधिकारीले भने । उनका अनुसार अनुसन्धानका लागि जिल्लाका डिएसपी ज्ञानेन्द्र फुयँलको नेतृत्वमा टोली खटाइएको छ ।
अनुसन्धानमा सहयोग पुग्नका लागि क्राइम चिकित्सक पनि खटाइएको छ । मृतक नरबहादुर दुई तले घरको माथिल्लो तलामा एकलै बस्दैँ आएका थिए । तल्लो तलामा भने कोठा भाडामा दिइएको थियो । यता, इटहरी वडा नं. ४ को दिलकुमारी लिम्बुको घरमा डेरा गरी बस्ने एक युवाले सोही घरमा बस्ने एक महिलाई हत्या गरेका छन् । सोलुखुम्बु देउसा वडा नं. ४ घर भई इटहरीमा ज्यालादारी, मिस्त्री काम गर्ने ३६ वर्षीय लालबहादुर राईले खोटाङ ज्यामिरेकी २९ वर्षीय सोनिया राईको हत्या गरेको प्रहरीले जनायो । सोनियाका श्रीमान तेह्रथुम आठराई वडा नं २ घर भएका सुर्यबहादुर नेपाली ६ वर्षदेखि विदेश साउदी अरबमा छन् ।
सुनसरीमा एकपछि अर्को हत्याको घटना बढेको बढ्यै छन् । साउनयता सात महिनाको अवधिमा १५ वटा हत्याका घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यी हत्याका घटनामा संलग्न भएको आरोपमा २५ जना पुरुष र २ महिलालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
–नागरिक पूवेली दैनिकबाट