बेरोजगारी समस्या नेपालको एउटा प्रमुख समस्याका रुपमा खडा भएको छ । व्यवसायीक शिक्षा प्रणालीका कारण शैक्षिक प्रमाणपत्र बोकेका हजारौ युवाहरु समेत योग्यता अनुसारको रोजगारीको अवसर नपाउदा ठुलो पैसा लगानी गरेर खाडी मुलुकका देशहरुमा लेबरका रुपमा काम गर्न जान बाध्य छन् । प्रत्येक वर्ष ठुलो संख्यामा रोजगारीका लागि तयार हुने युवाहरुका लागि राज्यले कुनै नीति वा कार्ययोजना तयार गर्न सकिरहेको छैन् ।
विभिन्न सरकारका पालामा विभिन्न प्रकारका युवा रोजगारीका कार्यक्रम घोषणा गरिएता पनि राजनीतिक दलका आ–आफ्नै अडान, समर्थन र विरोधका कारण कुनै योजना व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । बैदेशिक रोजगारीका जानेहरुको संख्या झण्डै ४० लाख रहेको तथ्य पुरानो भइसक्यो अब । तर यसमा गिरावट आउने छाँट देखिदैन ।
अहिले पनि दैनिक १ हजारको हारहारीमा जनशक्ति पलायन भइरहेका छन् । त्यही करिब १ हजार मध्येका एक पात्र हुन्, तारा बि.क । केहि दिन अघि हामी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उनी पुनः युएइ फर्र्किदै थिए । हो यो उनको पाचौ पटकको युएइ यात्रा हो । २००८ बाट युइएमा रोजगारीमा रहेका उनी बीचमा नेपालमै केहि गर्ने योजनासहित गृह जिल्ला दाङमै कुखुरा पालन गर्दै थिए । तर त्यो ब्यवसायले उनको गुजारा टार्न मुस्किल भएपछि उनी पुनः बिदेशिएका रहेछन् । र २० बर्षको उमेर देखि सुरुवात भएको बैदेशिक यात्रा अझै कहिलेसम्म जारी रहने हो टुङ्गो छैन । अझै कतिञ्जेल अर्काको देशमा आफ्नो पसिना बगाउनुपर्ने हो पत्तो छैन ।
तारा बि.क एक उदाहरणीय पात्र मात्र हुन्, स्थानीय तहमा रोजगारी सिर्जना हुन नसकेपछि धेरै जसो जिल्लाका युवा युवतिहरु वैदेशिक रोजगारमा जानु हाम्रो देशको लागी नियति र दुर्भाग्यकै कुरा हो । बेरोजगारीकै कारण हाम्रो देशका धेरै जसो युवा युवतीहरु बैदेशिक रोजगारमा जान बाध्य भएका हुन् । त्यसो त, वैदेशिक रोजगारमा जानु गलत काम होइन । वैदेशिक रोजगार मानव अधिकारको कुरा हो । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सके स्थानीय तहमा देखिएको बेरोजगारीको समस्या केही हदसम्म समाधान हुन सक्ला । तर त्यसले देशको भविष्य निर्धारण भने पक्कै पनि हुने देखिदैन ।
जीवनलाई खुकुरीको धारमा राखेर भाग्य कोर्न बिदेशिरहेका छन्, दैनिक १ हजार भन्दा बढी युवाहरु देशबाट । मनभरी हजारौ सपना र गहभरी आशु लिएर । देशको एकमात्र अन्तराष्ट्रिय बिमानस्थल त्रिभूवान बिमानस्थल पुग्दा आफ्ना आफन्तको बिदाई गर्न पुगेकाहरुको आखा जहाज उडिसक्दा पनि ओभाएको हुदैन ।
नेपालीको नियती: जाँदा आशामा आउँदा बाकसमा
राम्रै खाउ, राम्रै लाउ अनि अलिकति सम्पत्ती कमाउ भन्ने सोच सबैमा हुन्छ । तर त्यो सबैपनि स्वदेशमा अवसर नपाएपछि कहा सम्भब छ र ? अनि पासपोर्ट बनाएर म्यानपावर धाएर, पैसा खुवाएर बल्लतल्ल जहाजभित्र आकाशमा अनेकौं सपना बुन्दै उडिरहेका हुन्छन् । तर नियती र भाग्यले अनि अर्काको देशमा मृत्युवरण गरेकाले सपना बोकेर गएकै आकाशबाट बाकसमा कहिल्यै नब्युझिने गरि फर्कन बाँध्य हुन्छन् । बैदेशिक रोजगारीमा गएकाहरु मध्ये सबैले पैसा कमाउने नै भन्ने त पछिको कुरा आफ्नो जीवनकै भर छैन पराई मुलुकमा ।
असुरक्षित जीवन जीइरहेका छन्, उनीहरु । केहिको त रामैै्र होला तर धेरैको जीवन खुकुरीको धार सरी छ । अनि यसलाई नियमन गर्ने वा यससंग सम्बन्धित संस्थाले भने यसबारे गम्भिरता देखाउन अझै सकेका छैनन् । केबल मिठा भाषण र चर्का नाराले ठिक्क पार्न मात्रै जानेका छन् । झट्ट हेर्दा भन्दापनि एकपटक गम्भिर भएर सोचौ त, ति संस्थाहरु दक्ष जनशक्तिलाई बिदेश पठाएर यहा फर्किएर बाकसमा आएको लासको गन्ति गरिरहेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अहिले दैनिक ३ वटा लासहरु आइरहेको छ । जो हजारौ सपना सहित बैदेशिक रोजगारीमा गएका थिए । अहिले पनि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट दैनिक १ हजारको हारहारीमा बैदेशिक रोजगारीमा गइरहेको तथ्याङ्क छ । जसको प्रमुख गन्तब्य हुन्छ, खाडी मुलुक साउदी, कतार, युएइ आदी देशहरु ।
सरकारले बैदेशिक रोजगारीलाई मर्यादित र कडाइ गर्दै बिभिन्न म्यानपावर कम्पनीहरुलाई मर्जरको निति ल्याउने योजना पनि गरिरहेको छ । घरैपिच्छे रहने म्यानपावरको संख्यालाई कम गर्न सके बैदेशिक रोजगारमा जानेमध्ये ठगिनेको संख्यामा कमी आइ बैदेशिक यात्रालाई सुरक्ष्ािँत र मर्यादित बनाउन सहज हुने स्पष्टै छ । तर नौजवान बिदेश पठाएर बाकसमा फर्किएका लासको गन्ती गरिरहेको देशको यस्तो कथा ब्यथाले अझै कहिलेसम्म जरो गाड्ने हो पत्तो छैन । नीति बन्छ कार्यान्वयन हुदैन । नियम बन्छ पालना हुदैन । अनि कसरी हुन्छ व्यवस्थापन ?
रेमिट्यान्सको गन्ध नेपालीको नाकबाट कसरी हट्ला ?
बिदेश जाने भन्ने बित्तिकै कहिल्यै नपत्याउनेले पनि ऋण सहजै उपलब्ध गराउछन् भन्ने हाम्रो समाजमा प्रचलित छ । हुन पनि हो । झट्ट हेर्दा र सुन्दा यस्तो लाग्छ धेरैलाई कि बिदेशमा पैषाको बोटनै छ उता गएर टिपेर ल्याउन सहज छ जस्तो । भोग्नेलाई त थाहै छ तर नभोग्नेलाई सचेत गराउन खोज्दैछौं हामी ।
हुन त लामो समयको राजनीतिक अन्योलता र देशमा अवसर नहुनुको कारण बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्यो । तर देशमा अहिले राजनीतिक अस्थिरता क्रमश हटिरहेको छ । देश संघीय संरचना गईसकेको छ । तर पनि देशमै केहि उद्यम वा राम्रो जागीर गरिरहेका युवाहरु पनि भविष्य त्यती उज्यालो नदेखेरै त होला बिदेशिरहेका छन् । यसको जिम्मेवार थोेरै हदमा ब्यक्ती स्वयं भएपनि राज्य संञ्चालकले जनतामा बिश्वास दिलाउन नसक्नुनै हो भन्छन्, राजनीतिक बिश्लेषक डा. सुरेन्द्र केसी ।
तर यसो भन्दै गर्दा के नेपालमा कुनै सम्भावना नै छैनन् त, ति दक्ष जनशक्तिलाई स्वरोजगार बनाउने ? सम्भावनाका मार्गहरु प्रसस्त छन्, तर त्यसतर्फ देशलाई नेतृत्व गर्नेहरु अघि बढाउन सकिरहेका छैनन् वा चाहिरहेका छैनन्, यसै भन्छन्, राजनीतिक बिश्लेषकहरु । देशका नागरिकलाई भविष्य दिने दायित्व राज्यको हो तर राज्य त्यो दायित्वबाट पर सर्न खोजिरहेको भान हुने राजनीतिक बिश्लेषक डा.केसी बताउँछन् । उसो त अहिले देश संघीयतामा गईसकेपछि सरकारले बिभिन्न प्रदेशलाई लक्षित गरेर उद्योग धन्दाहरु सञ्चालनमा ल्याउन सके त्यहाका जनशक्तिहरुले रोजगारी पाउछन्, जसले गर्दा बिदेशिने युवाहरुलाई यहि रोजगारी दिन सकिन्छ । नेपालमा सम्भावनाका चाङ नै छन्, चाहे त्यो जलबिद्यूत, उर्जा, कृषि या अन्य क्षेत्रमा । तर यि सम्भावनाहरु साकार पार्नका लागि राष्ट्रले के पर्खिरहेको हो भनि उल्टै जिज्ञाशा राख्छन् राजनीतिका जानकार भरत शाही ।