इटहरी : विद्यार्थीको क्षमता प्रष्फुटन सँगै प्रतिभाको उजागर गर्नका निम्ति तरहरा जेसीजले ट्यालेन्ट हन्टको आयोजना गर्ने भएको छ ।

आईतबार तरहरामा पत्रकार सम्मेलन गर्दै इटहरीमा रहेका ४० बढी विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुबाट प्रि अडिसनबाट छनौट भएका टप विद्यार्थीहरुलाई विभिन्न प्रशिक्षण कार्यक्रमको आयोजना गरि अब्बल बनाईने तरहरा जेसीजका अध्यक्ष विकास गिरीले बताए । उनले भने, ‘हामीले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेपनि यस्ता खालका कार्यक्रम नगरेकाले नयाँ कार्यक्रम सँगै विद्यार्थीको क्षमता अभिवृद्धि हुनेछ । हामीले यसअघि पनि विभिन्न विद्यालयका विद्यार्थीहरुलाई चेतनामूलक कार्यक्रमको आयोजना गरेका छौँ ।’
विभिन्न विधामा विद्यार्थीलाई सहभागी गराईने उनले बताए । नृत्य, गायन, वक्तृत्वकला र अभिनयमा रुचि राख्ने विद्यार्थी सहभागी गराईने पत्रकार सम्मेलनमा जानकारी गराए । गिरीले भने, ‘हामीले नृत्य र गायनसँगै वक्तृत्वकलालाई पनि विशेष प्राथमिकता राखेका छौँ, किनभने यहाँ बोल्न डराउनेहरु धेरै छन्, उनीहरुलाई हामी सिकाउँछौँ ।’

जेष्ठ दोस्रो साताबाट अडिसन सुरु हुनेछ । रुथानीय स्तरमा क्षमतावान र प्रतिभावान कलाकार उत्पादन, राष्ट्रिय स्तरसम्म पुग्न कलाकारलाई योग्य बनाउने, व्यवसायिक क्षेत्रको प्रबर्धन गर्ने, इटहरी क्षेत्रको कलाको विकास गर्ने, बालमैत्री कार्यक्रमको माध्यमबाट बाल विकासमा योगदान पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुनिल तिम्सिनाले बताए । करीब १ हजार बढी विद्यार्थी सहभागी हुने उक्त ट्यालेन्ट हन्टको विभिन्न ४ विधामा उत्कृष्ट हुनेले नगद २५ हजार सहित ट्रफि र सम्मान पत्र प्रदान गरिने तिम्सिनाले बताए ।