काठमाण्डौं: संघीय संसदको अन्तरराष्ट्रिय सम्बन्ध समितिले नेपालमा हुने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नगर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले आईफा अवार्ड गरिनु नेपालको राष्ट्रियता र सार्वभौमिकता माथिकै गम्भीर हमला भएको निष्कर्ष निकाल्दै अवार्ड रोक्न निर्देशन दिएको समिति सदस्य सुदन किराँतीले जानकारी दिएको विभिन्न अनलाइनहरुले समाचार प्रकाशन गरेका छन् । किराँतीका अनुसार आइफा अवार्डको लागि नेपाललाई पठाएको प्रस्तावको मस्यौदा अध्ययन गर्दा भारतको कुनै प्रदेशजस्तो महसुस गराएकोले नेपालको लगानीमा कार्यक्रम गर्नु उचित नभएको ठहर समितिले गरकेो हो । “आईफा अवार्डका तर्फबाट नेपाललाई पठाइएको मस्यौदा अध्ययन गर्दा नेपाल सार्वभौम राष्ट्र भन्दा पनि भारतको कुनै प्रदेशजस्तो लाग्छ । त्यसैले समितिले अवार्ड रोक्न निर्देशन दिएको हो,” किराँतीले सञ्चारमाध्यमहरुसँग भनेका छन्, “छोटो समयमा यति ठूलो लगानी, त्यो पनि नेपाली जनताको पैसा खर्च गरेर कार्यक्रम गर्नु उचित नभएको समितिले ठहर गरेको हो ।”

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आईफा अवार्ड नेपालमा गर्न स्वीकृति दिएको बताइएको छ । यो अवार्ड वितरण कार्यक्रम गर्न आईफालाई पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले ४४ करोड २५ लाख रुपैयाँ नगद दिने तयारी गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि भारतीय फिल्म प्रर्वद्धन गर्ने कार्यक्रमलाई नेपाली जनताले तिरेको करबाट पैसा दिन लागेको भन्दै सरकारको सर्वत्र आलोचना भइरहेको छ । नेपाली कलाकार तथा चलचित्रकर्मीहरु पनि यो निर्णयप्रति सन्तुष्ट छैनन् । उनीहरुले आइफा गर्न ठाउँ र सुरक्षा दिन उचित भएपनि आयोजनाको लागि सरकारले पैसा दिन नहुने बताउदै आएका छन् । यो कार्यक्रमको लागि कलाकारसहित करिब छ सय जनाको दोहोरो प्लेनभाडा र होटलमा बसेको खर्च करिब एक अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।

सरकारले नेपाली चलचित्रको वृत्ति विकासका लागि लगानी नगर्ने तर भारतीय फिल्म प्रर्वद्धनको लागि भने करोडौं बजेट दिन लागेको भन्दै चर्को आलोचना खेपिरहेको छ । आइफाको लागि लाग्ने खर्च पर्यटन प्रर्वद्धन हुने नाममा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले दिने बताइएको छ । तर, पर्यटन बोर्डले भने पैसा दिने बारे निश्चित नभएको जनाएको छ । आइफाको १९ बर्षको इतिहासमा श्रीलंका भएको ११ आंै सँस्करणबाहेक कुनै पनि देशमा भएको सँस्करणमा त्यहाँको सरकारले पैसा दिएको इतिहास छैन ।