धरान: किरातहरुले मान्दै आएको नयाँ बर्ष यलम्बर सम्बत ५०८० को अवसर पारेर यही पुष २९ गते धरानको भानुचोकमा यलम्बर साँझ आयोजना हुने भएको छ ।

किरात राई यायोक्खा सुनसरीको आयोजनामा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसहित यलम्बर सम्बत ५०८० आयोजना हुने भएको हो । यायोक्खाले मंगलबार पत्रकार सम्मेलन गरेर यलम्बर साँझमा चर्चित गायकहरु राजेश पायल राई, जितेन राईसहित किरात राई साँस्कृतिक कलाकार संघका कलकार तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने जानकारी दिएको छ । यायोक्खाका जिल्ला अध्यक्ष बलराम राईले किरात राज्य प्राप्तीको आन्दोलनको प्रचारात्मक अभियानअन्र्तगत नै यलम्बर साँझ आयोजना गरिएको बताए । ‘२०६३ सालदेखि नै किरात प्रदेशको माग राखेर आन्दोलनमा छौं, अहिले १ नं प्रदेशलाई किरात प्रदेश नामकरण गर्नुपर्ने माग छ,’अध्यक्ष राईले भने,‘यलम्बर साँझ पनि किरात प्रदेशकै प्रचारात्मक अभियान हो ।’

भानुचोकमा आयोजित कार्यक्रम प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा हुनेछ । उक्त कार्यक्रममा एक जना वक्ताले प्रदेश नामकरणबारे बोल्नेछन् भने एक वक्ताले यलम्बर सम्बतबारे बोल्ने यायेक्खाले जनाएको छ । ‘माघ १ गतेलाई यलम्बर सम्बतको नयाँ बर्ष शुरुवातकोरुपमा मनाउदै आइरहेका छौं, यो बर्ष ५०८० यलम्बर सम्बतकोरुपमा मनाउदैछौं,’कार्यक्रमका संयोजक तथा यायोक्खाका सहसचिव नविन राईले भने,‘किरात हाङ यलम्बरले शुरु गरेको मौलिक सम्बतलाई संरक्षण, सम्बद्र्धन र विकास गर्दै लैजाने, नेपालको राष्ट्रिय सम्बतकोरुपमा स्थापित गराउने र देशभित्रका अन्य जातजातिको मौलिक सँस्कृतिहरुसँग सद्भाव कायम राख्ने उद्देश्य हो ।’

किरातीहरुले नेपालमा ३२ पुस्ता शासन गरेको मानिन्छ । किरातीहरुको पहिलो राजा यलम्बर हाङ हुन् । उनले शासन शुरु गरेको समयलाई आधार मानेर स्थापना गरिएको सम्बतकोरुपमा लिने गरिन्छ । यलम्बर सम्बतलाई राईहरुले यलम्बर सम्बत, लिम्बुहरुले यले तङ्वे, सुनुवारहरुले यले थोचे र याक्खा जातिले यले सम्बत भन्ने गर्छन् ।