विराटनगर : मोरङको मिक्लाजुङ-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मङ्सिर २३ गते मङ्गलवार बिहान घाँटी रेटेर हत्या भयो ।
अपहरण गरेर लगेको आधा घण्टा पछि घरबाट करिब १ किलोमिटर टाढा जङ्गलमा उनको शव फेला पर्यो । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका श्रेष्ठ स्थानीय बुद्धिजीवी थिए । गाउँका हरेक व्यक्ति सल्लाह लिन उनीकहाँ आउँथे । शिक्षण पेसासँगै उनले बाख्रा फर्म दर्ता गरेर व्यावसायिक बाख्रा पालन पनि गर्दै आएका थिए ।
विद्यालयको प्रधानाध्यापक, व्यावसायिक बाख्रा पालन र खेती गर्ने भएकाले नेत्र विक्रम चन्द (विप्लव) कार्यकर्ता उनको घरमा नियमित जस्तो आउने गर्थे । कहिले चन्दा, कहिले तरकारी त कहिले खसी माग्न उनीहरू आउने गर्थे । बर्खेमा १२ घर छन् । तर विप्लव कार्यकर्ता श्रेष्ठकै घरमा बढी आउने गर्थे ।
उनलाई बढी लक्षित गर्दै दुख दिने गरेको स्थानीयवासी बताउँछन् । कहिले चन्दा माग्ने, कहिले खसी माग्ने गर्थे । गत वैशाख तिर स्थानीय लक्ष्मण श्रेष्ठको खेतीमा काम गर्दै गर्दा राजेन्द्रको फोन आयो । त्यो वेला उनलाई १० हजार मागियो ।
उनले ५ हजार मात्र दिन सक्ने बताएपछि फोनगर्नेहरु पैसा लिन आएनन् । फेरि असार तिर १ लाख ५० हजार चन्दा मागेको राजेन्द्रले लक्ष्मणलाई सुनाएका थिए । लक्ष्मणले भने,‘ राजेन्द्र सरलाई चन्दा मागेर पनि हैरान गरेका थिए ।’
विप्लव कार्यकर्ताले कहिले प्रहरी बनेर फोन गर्ने, कहिले विप्लव बनेर फोन गर्ने गरेको स्थानीयको भनाई छ । शिक्षक श्रेष्ठको हत्या हुनु ३ दिनअघि देखि विप्लव कार्यकर्ताले उनलाई पछ्याई रहेका थिए ।
घरबाट ५ सय मिटर टाढा रहेको बाख्राको खोरमा गयो उतै जम्काभेट हुने । घर आयो घरमै उनीहरू आईपुग्ने गर्थे । मंसिर २० गते शनिबारदेखि उनीहरुले बाक्लै गरी पछ्याएपछि उनमा अलि डर पनि बढेको थियो ।
उनका छिमेकी मिक्लाजुङकै मनोहर आधारभूत विद्यालयमा शिक्षण पेशा गर्दै आएका मदन श्रेष्ठलाई उनले विप्लव कार्यकर्ताले अलि बढी पछ्याएको सुनाए । उनको कुरा सुनेपछि मदनले मिक्लाजुङ २ मा छोरा छत्रबहादुर बस्दै आएको घरमा गएर केही दिन बस्नु पनि भने ।
श्रेष्ठले उनलाई भने,‘ मैले केही गरेकै छैन, किन डराउनु, फेरि घरमा गाई पनि ब्याउने बेला भएको छ ।’ शिक्षक श्रेष्ठले हत्या हुनु अघिल्लो दिन सोमबार साँझ मदन श्रेष्ठलाई भनेका थिए ‘राती मोबाइल अफ नगर्नु, केही परे कल गर्छु, त्यसपछि एक दुई जना साथीहरू पनि लिएर आउनु है ।’ रातभर उनलाई निद्रा लागेन । राती फोन आएन । फोन नआएपछि उनी बिहानै आफ्नो काममा लागे ।
मङ्गलवार बिहान मदनको घरबाट रिचार्ज कार्ड लिएर राजेन्द्र उनको बाख्राको खोर तिर लागे । श्रीमती बिहान उठेर खोर गइसकेकी थिइन । बाख्राको खोरमा मृतक श्रेष्ठकी श्रीमती धनकुमारीलाई मात्र देखेपछि विप्लव कार्यकर्ता घरतर्फ लागे ।
बाटैमा राजेन्द्रकुमारसँग भेट भयो । उनीहरूले घरै जाऔँ भनेर ल्याए । घरमा आइपुगेपछि पटुवाको डोरीले हात बाँधेर जङ्गलतर्फ हिँडाएँ । बाँधेर लैजाँदै गरेको स्थानीय गोविन्द श्रेष्ठले देखे । उनलाई राजेन्द्रले भने,‘ माल्दाई मलाई साथीहरूले लगे, कहाँ लगेका हुन, कता लगेका हुन, केही थाहा भएन ।’
राजेन्द्रको छिमेकीसँगको त्यो अन्तिम संवाद थियो । शिक्षक श्रेष्ठले त्यसो भनेपछि गोविन्दले ४ जना नकाबधारी र २ जना मास्क मात्र लगाएको समूहलाई भने,‘ किन लगेको, यतै बसौँ न ।’ त्यति भनेपछि उनीमध्ये एकले भने,‘ बढी बोलिस् र पुलिसलाई भनिस् भने तेरो पनि यही हालत हुन्छ ।’
त्यसपछि उनीहरू अघि बढे । गोविन्दले गाउँमा खबर गर्न थाले । बाक्लो बस्ती नभएको र हत्तपत्त फोन नलाग्ने भएपछि उनले डाँडाबाटै छिमेकीलाई बोलाए । शिक्षक श्रेष्ठकी पत्नी धनकुमारी बाख्राको खोरमै थिइन । उनलाई स्थानीय अन्जु श्रेष्ठले ‘सरलाई लगे कता लगे छिट्टो आउनु भनिन् ।’ खोर छाडेर उनी पनि घर तर्फ आइन ।
छिमेकी मदन श्रेष्ठ सहितका ५–६ जना जुटे । उनीहरू शिक्षक श्रेष्ठलाई लगेको बाटो पछ्याउँदै लागे । उनीहरूलाई बिहानको समय र सितका कारण पछ्याउन सजिलो भयो ।
श्रेष्ठले भने,‘ सितमा हिँडेको पाइला प्रस्ट देखिएकाले घटनास्थल सम्म नै पुगियो ।’ उनीहरू घटनास्थल पुग्दा शिक्षक श्रेष्ठको हत्या भइसकेको थियो । उनीहरूले जङ्गलमा मान्छे भागेको, रुखका पातहरू बजेको सुने । तर, पछ्याउन सकेनन् । जङ्गल भएकाले पिछा लाग्न सकिएन श्रेष्ठले भने ।
जङ्गल गएको टोली फर्कियो । हत्या गरेर फालेको देखियो भनेपछि गाउँ नै शोकमा डुब्यो । श्रीमतीलाई घटनास्थल सम्म पुग्ने साहस भएन । धनकुमारीले भनिन्,‘ मैले घाटमा मात्र मुख हेरेँ ।’
शिक्षक श्रेष्ठकी श्रीमती बर्खे नफर्कने
राजेन्द्रकुमार श्रेष्ठकी श्रीमती धनकुमारीले अब बर्खे नफर्कने बताइन । त्यो ठाउँमा म बस्न सक्दिन उनले भनिन् ।
छोरा छत्रबहादुर बस्दै आएको मिक्लाजुङ -२ को घरमा किरियामा बसेको राजेन्द्रको परिवार
आइफुलाई पनि मार्छन् श्रेष्ठले भनिन् । अव छोरासँगै बस्ने उनले बताइन । ‘छोरा र नातिको मुख हेरर बस्छु ।’ श्रेष्ठ परिवार बर्खेमा बसेको बषौं भयो ।
शिक्षक श्रेष्ठको परिवारले बर्खे नबस्ने बताएपछि स्थानीयवासीले पनि ज्यानको सुरक्षा नभएको बताए । बिस्तारै बर्खे छोड्ने उनीहरूले सोच बनाएको बताएका छन् । बर्खेको घटनापछि सुरक्षा बेस राखिएको छ । अहिले अस्थायी रूपमा सुरक्षा बेस राखिए पनि स्थायी रूपमा राख्नेबारे छलफल भइरहेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।
रमितेमा पहिले देखिनै सुरक्षा पोस्ट राख्न सम्बन्धित निकायमा भने पनि कार्यान्वयन नभएको उनले गुनासो गरे । आचार्यले भने,‘ रमितेमा ‘ख’ श्रेणीको इलाका प्रहरी राख्नेबारे कुरा भइरहेको छ ।’
मिक्लाजुङमा विप्लवका गतिविधि आपराधिक
विप्लव कार्यकर्ताले मिक्लाजुङमा गरिएका गतिविधि आपराधिक देखिएका छन् ।
शिक्षक श्रेष्ठको हत्याका साथै उसले सञ्चालन गरिरहेका हरेक गतिविधिहरू आपराधिक देखिएका छन् । गत वर्षको माघ ५ गते रमितेमा सडक निर्माणमा प्रयोग गरिएको तीन वटा जेसीबीमा विप्लव समूहले आगो लगाएर काम नलाग्ने बनाएको छ ।
मिक्लाजुङ १ मा जलाईएका एक्स्काभेटर
जसका कारण त्यहाँको सडक निर्माण कार्य लामो समय सम्म रोकिन पुग्यो । बम विस्फोटबाट को १ क ३०३० नम्बर र दुई वटा लिङकङ ९२२ र क्याट ३२० लेखिएका अन टेस्ट एक्स्काभेटर पूर्ण रूपमा क्षति पुगेको छ । शिक्षक श्रेष्ठ हत्याको घटनास्थलबारे बुझ्न विराटनगरबाट गएको मानव अधिकारकर्मीको टोलीले गतिविधि आपराधिक भएको देखिएको जनाएको छ ।
इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले विप्लवको गतिविधि राजनीतिक भन्दा पनि आपराधिक देखिएको बताए ।
मिक्लाजुङ १ रमितेमा राखिएको अस्थायी संयुक्त सुरक्षा अप्रेसन वेसमा रहेको नेपाल प्रहरी