धरान : सुनसरीको बर्जु तालमा नेपालको लागि दुर्लभ हाँसको प्रजातिको चरा भेटिएको छ ।

कोशी वर्ड सोसाइटीको आयोजनामा भर्खरै सम्पन्न सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चरा गणनाको क्रममा सुनसरीको बर्जु तालमा हाँस प्रजातिकै विजुलागैरी हाँसको समूहमा 'बैकालगैरी हाँस' को एउटा भाले चरा भेटिएको चरा विज्ञ सञ्जीव आचार्यले बताए ।

यो हाँस प्रजातिको चरा नेपालमा हालसम्म ५ वटा मात्र भेटिएको रेकर्ड छ । सबै रेकर्ड समूहमा नभएर एउटा र दुई वटाको सङ्ख्यामा मात्रै फेला परेको चराविद् आचार्यले बताए ।

पूर्वी साइबेरिया र पूर्वी एसियाका देशहरूमा पाइने यो हाँस प्रजातिको चरा नेपालमा दुर्लभ चराको सुचीमा रहेको छ ।

यस भन्दा अघि सुनसरीको कोशीटप्पुमा हाँस प्रजातिको “विन गुज“ पहेँलो ठुँडे कल हाँस पहिलो पटक भेटिएको थियो जुन चरा भरखरै सम्पन्न जलपंक्षी गणनाका दौरानमा पनि रेकर्ड भएको चराविद् आचार्यले बताए ।