वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले चक्रघट्टिस्थित कार्यालयबाटै मालपाेत र नापी सेवा सुरु गरेको छ। नगर प्रमुख रमेश कार्कीले सोमबार एक कार्यक्रमबिच सेवाको उद्घाटन गरेका हुन्।
सेवा सुरु भएसँगै जग्गासम्बन्धी कामका लागि इनरुवा र धरान धाउनुपर्ने स्थानीयवासीको बाध्यता हट्ने भएको छ। नगरपालिकाको भूमि व्यवस्थापन शाखामार्फत नक्सा प्रिन्ट, कित्ताकाट, फिल्ड रेखाङ्कन, कित्ता एकीकरण, नक्सा अद्यावधिक, जग्गा रजिस्ट्रेसन, नामसारी, दाखिल–खारेज, रोक्का तथा फुकुवालगायतका सेवा उपलब्ध हुनेछन्।
यसैगरी जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण, भू-उपयोग क्षेत्र वर्गीकरण, राजीनामा, हकहिस्सा, दानपत्र, बकसपत्र, अंशबन्डा, दृष्टिबन्धकी, घर कायम तथा नक्सा प्रमाणित प्रतिलिपिसम्बन्धी सेवा पनि नगरपालिकाबाटै लिन सकिनेछ।
सेवा शुभारम्भकै दिन वराहक्षेत्र नगरपालिका ५ का टेकबहादुर सुबेदी र धरान उपमहानगरपालिका-५ की कोपिला पौडेलले पहिलो सेवाग्राहीका रूपमा जग्गा खरिदसम्बन्धी लिखत पारित गराएका थिए। सेवाग्राहीले अब सामान्य जग्गासम्बन्धी कामका लागि सदरमुकाम पुग्नुपर्ने, यातायात खर्च व्यहोर्नुपर्ने र भीडका कारण काममा ढिलाइ हुने समस्या कम हुने बताए।
नगर प्रमुख कार्कीले भूमि प्रशासन सेवा स्थानीय तहबाटै सञ्चालन हुनु सङ्घीयताको व्यावहारिक कार्यान्वयन भएको बताए। उनले यसबाट नागरिकले सहज, छिटो र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राधिका गिरी, भूमि प्रशासन कार्यालय सुनसरीका प्रमुख ओमकारप्रसाद न्यौपाने, नापी कार्यालय इनरुवाका प्रमुख नापी अधिकृत सञ्जिकुमार राउत, भूमि प्रशासन कार्यालय धरानका प्रमुख अम्बिकाप्रसाद चौलागाईं, वडाध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति थियो।
नगरपालिकाबाटै भूमि प्रशासन सेवा सञ्चालन भएपछि सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाह थप पारदर्शी र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ।









































































