धरान : वीपी प्रतिष्ठान अस्पतालमा बिरामीको रगत परीक्षणको ल्याब रिपोर्ट बिरामी वा आफन्तले आफै प्रिन्ट गरेर निकाल्न सकिने ‘स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन’ जडान गरिएको छ ।
नयाँ प्रणाली जडान गरिएपछि बिरामी वा आफन्तले ल्याब रिपोर्ट प्राप्त गर्न लाइनमा बस्नु नपर्ने प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले प्रेस विज्ञप्तिमा बताएका छन् ।
उनका अनुसार सेवाग्राहीले ल्याब परीक्षणको बिलको बारकोडलाई मेसिनको बायाँ पट्टि बत्ती बलिरहेको सेन्सर भागमा देखाउनु पर्छ । बारकोड स्क्यान हुनासाथ मेसिनको प्रणालीले सोझै डाटा पहिचान गरी केही सेकेन्डभित्रै ल्याब रिपोर्ट प्रिन्ट गरेर बाहिर निकाल्ने गर्दछ ।
प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको उक्त अत्याधुनिक मेसिनको व्यवस्थाबाट प्रयोगशाला परीक्षण रिपोर्ट सङ्कलन गर्न आउने हजारौँ बिरामीलाई लाइनमा बस्नु पर्ने झन्झटमुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त अटोमेटिक ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सोमबार प्रतिष्ठानकी उपकुलपति प्राडा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्र कुमार लिम्बूज्यूले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘दिनदिनै बिरामीको चाप बढेका कारण यसअघि ल्याब रिपोर्ट काउन्टरबाट रिपोर्ट लिन बिरामी तथा आफन्तहरू घण्टौँसम्म लामो लाइनमा बस्नुपर्ने बाध्यता रहेको र अत्यधिक भीडका कारण कर्मचारीहरूलाई पनि रिपोर्ट खोज्न र वितरण गर्न कठिनाइ भइरहेको थियो ।’
नयाँ प्रविधिबाट आफै रिपोर्ट निकाल्न सक्ने प्रणालीले लामो लाइन बसी रिपोर्ट निकाल्न लाग्ने समयको बचत हुनुका साथै रिपोर्ट वितरण काउन्टरमा हुने भिडभाड, मानवीय त्रुटि हुने जस्ता समस्याहरूमा कमी आउने प्रतिष्ठानले विश्वास व्यक्त गरेको छ ।









































































